कार दुर्घटनामा युवकको मृत्यु
बिदुर – नुवाकोटको शिवपुरीमा सडकमा गुडिरहको कार दुर्घटनामा परेको छ । सडकमार्गदेखि तल जंगलमा खसेर भएको दुर्घटनामा एक युवकको मृत्यु, भएको छ भने दुई जना घाइते भएका छन् । नुवाकोटबाट काठमाडौंतर्फ जांदै गरेको बिएई ०५६९ विद्युतीय कार विहीवार वेलुकी नुवाकोटवाट काठमाडौं प्रवेशको छोटो दुरीको छहरे–गुर्जे–टोखा सडकमार्गमा दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

दुर्घटनामा सिरहाको सुखीपुर नगरपालिका २ का ३५ वर्षिय सन्जिवकुमार चौधरीको मृत्यु भएको प्रहरी उपरिक्षक विपीन रेग्मीले जानकारी दिए । उनका अनुसार दुर्घटनामा घाइते तीन जनामध्ये चौधरीको ग्राण्डी अन्र्तराष्ट्रिय अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । दुर्घटनाग्रस्त कारण शिवपुरी गापाको गुरुङगाउँ र गुर्जे–भञ्ज्याङ बीच सडकबाट एकसय ५० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको हो ।

दुर्घटनालगत्तै स्थानीयवासी, प्रहरीले घाइतेहरुलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको थियो । दुर्घटनालगत्तै अस्थायी प्रहरी पोष्ट गुर्जेभन्ज्याङबाट प्रहरी अधिकृतसहितको प्रहरी टोली गएर स्थानीयवासीहरुको सहयोगमा घाईतेहरुलाई उद्दार गरी कारमा सवार ३ जना गम्भिर घाईते तथा अचेत अवस्थामा रहेकाहरुलाई उद्दार गरी उपचारको लागि काठमाडौस्थित ग्राण्डी अन्र्तराष्ट्रिय अस्पतालमा पठाईएको थियो । घाइते चौधरीको उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते काठमाडौ महानगर ९ गौरीघाटका ४५ वर्षिय लोकेश मिश्र र कार चालक सुनसरीको इनरुवा नगरपालिका ५ घर भई हाल काठमाडौ महानगर .८ बस्ने ४० वर्षिय उत्सव पोखरेल घाइते भएका छन् । प्रहरीले कार चालक उत्सव पोखरेललाई नियन्त्रणमा लिएको प्रहरी उपरिक्षक रेग्मीले जानकारी दिए । कार दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको नुवाकोट प्रहरीले जनाएको छ ।













































