उपकुलपति डा. सुवालले सुरु गरे कार्यभार

– गुणस्तरिय र उत्कृष्ट शिक्षा प्रणालीमा केन्द्रीत
लोकखवर शिक्षा संवाददाता
२०८३ असार २४, बुधबार २३:४६

बिदुर – सरकारले नियुक्त गरेसंगै नवनियुक्त उपकुलपतिद्वारा आफ्नो कार्यालयमा पदभार ग्रहण गरेका छन् । मध्यपश्चिम विश्वविद्यालयका नवनियुक्त उपकुलपति सह–प्रा. डा. ई. राजन सुवालले पदभार ग्रहण गरेका छन् । डा. सुवालले विश्वविद्यालयको केन्द्रीय कार्यालयस्थित हलमा पदभार ग्रहणलगत्तै मन्तव्य व्यक्त गर्दै गुणस्तरिय र उत्कृष्ट शैक्षिक कार्य गर्ने प्रतिवद्धता जनाए ।

डा. सुवालले कर्णालीमा अझै विशेषगरी मध्यपश्चिम विश्वविद्यालयमा यसअघि पदाधिकारीको जिम्मेवारीमा रहेर काम गरेको अनुभव व्यक्त गर्दै विश्वविद्यालयलाई गुणस्तरीय, अनुसन्धानमुखी तथा उत्कृष्ट शैक्षिक संस्थाका रूपमा विकास गर्न आफू सदैव सकारात्मक, सहकार्यात्मक र परिणाममुखी ढङ्गले अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले विश्वविद्यालयको समग्र विकासका लागि सबै पदाधिकारी, प्राध्यापक, कर्मचारी तथा सरोकारवालाहरूले आ–आफ्नो जिम्मेवारी इमानदारी, कर्तव्यनिष्ठा र समर्पणका साथ क्रियाहील हुर्नुुपर्नेमा जोड दिए । सोही अवसरमा विश्वविद्यालयका निवर्तमान उपकुलपति प्रा. डा. नारायणप्रसाद पौडेलको सम्मान तथा बिदाइ कार्यक्रमसमेत गरिएको थियो ।

निवर्तमान उपकुलपति प्रा. डा. पौडेलले विशेष परिस्थितिमा विश्वविद्यालयको नेतृत्व सम्हाल्ने अवसर प्राप्त भएको स्मरण गर्दै विश्वविद्यालयको संस्थागत विकास, शैक्षिक गुणस्तर अभिवृद्धि तथा समग्र हितका लागि आफू सदैव प्रतिबद्ध र तत्पर रहेको वताए । साथै आगामी दिनमा पनि विश्वविद्यालयको उन्नति र प्रगतिका लागि आफ्नो साथ, सहयोग र शुभेच्छा निरन्तर रहने वताए । कार्यक्रममा विश्वविद्यालयका रजिस्ट्रार सह–प्रा. डा. अर्जुनबहादुर अयडीलगायतले नवनियुक्त उपकुलपति डा. राजन सुवाललाई सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

पदभार ग्रहण कार्यक्रममा विश्वविद्यालयका पदाधिकारी, डिन, कार्यकारी निर्देशक, परीक्षा व्यवस्थापन कार्यालयका प्रमुख, विभागीय प्रमुख तथा संयोजक, प्राध्यापक, कर्मचारी, विद्यार्थी लगायतको उल्लेखनीय सहभागिता रहेको थियो। यसैवीच, मध्यपश्चिम विश्वविद्यालय ग्र्याजुएट स्कुल अफ एग्रिकल्चर एण्ड फरेष्ट्रीको डिनको कार्यालयको आयोजनामा सातौँ तथा आठौँ सत्रका विद्यार्थीहरूका लागि सञ्चालन गरिएको तथ्याङ्क विश्लेषणसम्बन्धी तालिम सम्पन्न भएको छ । समापन कार्यक्रममा नवनियुक्त उपकुलपति सह–प्रा. डा. ई. राजन सुवालले तालिमको समापन गरे ।

कार्यक्रममा विशिष्ठ अतिथि निवर्तमान उपकुलपति प्रा. डा. नारायणप्रसाद पौडेल, तथा रजिष्ट्रार सह–प्रा. डा. अर्जुनबहादुर अयडी, विशेष अतिथिको रुपमा विश्वविद्यालयका विभिन्न ग्राजुएट स्कुलका डिनहरु र ग्राजुएट स्कुलका संयोजक, प्राध्यापक, कर्मचारीलगायतको उपस्थिति रहेको थियो । ग्राजुएट स्कुल अफ एग्रिकल्चर एण्ड फरेष्ट्रीका डीन सह–प्रा. डा. करनसिंह धामीले सहभागी विद्यार्थीहरूले तालिमबाट प्राप्त ज्ञान र सीपले अनुसन्धान कार्यलाई थप व्यवस्थित, विश्वसनीय तथा प्रभावकारी बनाउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए ।

 

 


सर्वाधिक रुचाइएको