राप्रपा नुवाकोटको अधिवेसन

– अध्यक्षमा पुनः खड्गी निर्वाचित
लोकखबर
२०८३ कार्तिक २०, बिहीबार २२:३३

बिदुर – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नुवाकोटको अधिवेसन बिदुरमा सम्पन्न भएको छ । अधिवेसनमा भएको मतदानवाट राप्रपा जिल्ला अध्यक्षमा पुनः कुलबहादुर खड्गी निर्वाचित भएका छन् । जिल्ला अधिवेशनअन्तर्गत भएको निर्वाचनमा खड्गीले प्रतिस्पर्धी विमल थापालाई ५३ मतको अन्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।

कुल २ सय ४३ मतदाता रहेको अधिवेशनमा दुइसय नौ मत खसेको थियो । खसेको मतमध्ये १२ मत बदर भएको निर्वाचन समितिले जनाएको छ । अध्यक्षमा निर्वाचित खड्गीले एकसय २५ मत प्राप्त गर्दा थापाले ७२ मत पाएका थिए । निर्वाचन समितिका संयोजक उमेश दाहालका अनुसार निर्वाचित जिल्ला सदस्यहरुमा महेशकुमार डंगोल, यशोदा दाहाल, रामकुमार राई, बाबुराम राई, गोविन्द गिरी, यज्ञराज केसी, अस्मिता परियार, दीपेन्द्र पण्डित, मुना थापा, शर्मिला तामाङ, रणबहादुर न्यौपाने, राजाराम पाण्डे र दिपेश लामासहित २२ जना निर्वाचित भएका छन् ।

जिल्ला कार्यसमितिमा कुल सदस्य संख्याको २५ प्रतिशत अध्यक्षले मनोनित गर्न पाउने व्यवस्था रहेको छ । नवनिर्वाचित अध्यक्ष खड्गीले यसअघि पनि एक कार्यकाल जिल्ला अध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन । निर्वाचनबाट नयाँ जिल्ला नेतृत्व चयन भएसँगै राप्रपाको संगठनात्मक गतिविधि मजवुत वनाउने अध्यक्ष खड्गीले प्रतिवद्धता जनाए ।

अध्यक्ष खड्गीले पार्टीलाई एकताबद्ध बनाउँदै थप सशक्त र व्यवस्थित रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । नवनिर्वाचित जिल्ला कार्यसमितिलाई पार्टीका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीको उपस्थितिमा आयोजना हुने कार्यक्रममा प्रमाणपत्र प्रदान गरिने जनाइएको छ ।

 


सर्वाधिक रुचाइएको