बेलकोटगढीका पुर्व मेयर खनालको निधन
बिदुर – नुवाकोटको बेलकोटगढी नगरपालिकाका निवर्तमान मेयर तथा नेकपा एमाले नुवाकोटका उपाध्यक्ष राजेन्द्ररमण खनालको निधन भएको छ । फोक्सोसँग सम्बन्धित गम्भीर समस्याबाट पीडित खनालको उपचारका क्रममा आइतवार असामयिक निधन भएको हो । ६२ वर्षिय खनाल केही महिनादेखि स्वास्थ्य समस्याबाट ग्रसित थिए ।
भारतमा करिब चार महिना उपचार गराएर नेपाल फर्किनुभएका खनाललाई स्वास्थ्यमा पुनः समस्या देखिएपछि केही दिनअघि काठमाडौंस्थित जनमैत्री अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको निधन भएको हो । उनको आइतवारै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।

स्व. खनालका दुई छोरा र एक छोरी रहेका छन् । १० वर्ष अगाडि बेलकोटगढी नगरपालिका स्थापना भएपछि पहिलो मेयर निर्वाचित भएका खनालले सो नगरपालिकाको संस्थागत विकासका साथै शिक्षा, स्वास्थ्य, भौतिक पुर्वाधार तथा विकास निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । स्थानीय तहको विकास र नगरपालिकाको प्रारम्भिक संरचना निर्माणमा स्व. खनालको योगदानलाई महत्वपूर्ण रहेको एमाले नुवाकोटका अध्यक्ष तथा वागमति प्रदेशका पुर्वमन्त्रि वद्री मैनालीले वताए ।
खनालको निधनले नुवाकोटमा अपुरक्षिय क्षति पुगेको जनाउंदै नेकपा एमाले नुवाकोटसहित बेलकोटगढीका स्थानीयवासी तथा शुभेच्छुकहरू, नेता–कार्यकर्ता, स्थानीयवासी तथा शुभेच्छुकहरूले अस्पताल तथा आर्यघाट पुगेर श्रद्धाञ्जली अर्पण गरेका छन् । खनाल २०७४ सालको स्थानीय तह निर्वाचन नेकपा एमालेवाट बेलकोटगढी नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए । स्व. खनाल गत २०५४ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन मदानपुर गाविसको जनप्रतिनिधिसमेत निर्वाचित भएका थिए ।

यसैवीच, बेलकोटगढी नपाका प्रथम मेयर तथा एमाले नुवाकोटका उपाध्यक्ष राजेन्द्ररमण खनालको निधनप्रति शोक व्यक्त गर्दै बेलकोटगढी नपाले सार्वजनिक शोक बिदा दिने निर्णय गरेको छ । सो नपाले आइतवार जारी गरेको सूचनाअनुसार पुर्व मेयर खनालको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै सोमबार नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालयहरू, स्वास्थ्य संस्थाहरू (अत्यावश्यक सेवाबाहेक) तथा नगरपालिका अन्तर्गतका सम्पूर्ण शैक्षिक संस्थाहरूमा एक दिन सार्वजनिक शोक बिदा दिइने जनाएको छ ।

सो नपाले पुर्व मेयर खनालको निधनले स्तब्ध बनाएको जनाएको छ । स्वास्थ्य लाभको कामना गरिरहेका बेला असामयिक निधन भएको जनाउंदै नगर निर्माणमा खनालले पु¥याएको मार्गदर्शन र योगदानलाई नगरपालिकाले स्मरण गर्दै सो नगरपालिकाले खनालको योगदान बेलकोटगढीवासीको स्मृतिमा सधैँ जीवित रहने उल्लेख गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ ।












































