बाढी प्रभावितलाई लक्ष्यित गरि स्वास्थ्य शिविर

– दुईसय जनाको उपचार
लोकखवर स्वास्थ्य संवाददाता
२०८३ आश्विन १४, बुधबार २३:५०

बिदुर – त्रिशूली नदीमा आएको महाप्रलयपछि बाढी पीडितहरुलाई लक्ष्यित गरि नुवाकोटमा स्वास्थ्य उपचार शिविर गरिएको छ । शिविरमा दुई सय जनाको उपचार गरिएको छ । बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावितहरुको लागि नुवाकोट शहरी स्वास्थ्य केन्द्रको भवनमा सामुदायिक स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

राहत तथा पुनःस्थापनामा सक्रिय रहँदै आएको सशस्त्र प्रहरी बल नेपाल अस्पताल, बलम्बुको विशेषज्ञ टोलीबाट उक्त स्वास्थ्य उपचार शिविर गरिएको हो । विश्व हृदय दिवसको अवसरमा लायन्स/लियो क्लब अफ काठमाडौं लर्ड बुद्धको सहयोग तथा नेपाल एपीएफ अस्पतालको विशेषज्ञ टोली, एपीएफ नं. १९ गुल्म नुवाकोटका सहयोगी कर्मचारी, स्वयंसेवक र जनप्रतिनिधिको समन्वयमा बाढी प्रभावित समुदायलाई लक्षित गरी शिविर सम्पन्न गरिएको हो ।

शिविरमा  १ सय ५ महिलासहित १ सय ९५ जनाले स्वास्थ्य लाभ लिएका थिए । शिविरमा १९ जनाको इको, २५ जनाको इसिजि, ३५ जनाको युएसजि परिक्षणका साथ एक जनालाई रिफर गरिएको आयोजकले जनाएको छ । शिविरमा आवश्यक औषधिसमेत प्रदान गरिएको थियो ।


सर्वाधिक रुचाइएको