प्याव्सनद्वारा बाढी पीडित परिवारलाई सहयोग
बिदुर – डेढ महिना अगाडिको प्रलयकारी बाढीका कारण पीडित भएका परिवारका सदस्यलाई निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले आर्थिक सहयोग गरेको छ । नगद हस्तान्तरण गरेको हो । गत भदौ १० गते त्रिशूली नदीमा आएको बाढीका कारण वेपत्ता तथा मृत्यु भएकाहरुको परिवार, घरबारबिहिन भएका २५ जना सञ्चालक/गुठियारहरुका लागि राहतस्वरूप प्याब्सन नुवाकोटमार्फत नगद प्रदान गरेको हो । ति व्यक्तिहरुमध्ये प्रति व्यक्ति नगद ७५ हजार रुपैया हस्तान्तरण गरिएको हो ।

यसका साथै ५८ जना शिक्षक र कर्मचारीहरुका लागि राहतस्वरूप प्रति व्यक्ति नगद ६० हजार रुपैयाका दरले हस्तानतरण गरिएको प्याब्सन नुवाकोटका अध्यक्ष पुरुषोत्तम अधिकारीले जानकारी दिए । उनका अनुसार यसका साथै बाढीले पूर्णरूपमा क्षति भएका विद्यालयहरु उत्तरगया पब्लिक इङ्गलिस स्कुल र त्रिशूली सामुदायिक बोर्डिङ स्कुललाई १०÷१० लाख रुपैया उपलब्ध गराइएको छ । उक्त कार्यमा प्याब्सन केन्द्रीय कार्यसमिति, विपद व्यवस्थापन समिति, प्रदेश समितिहरु, जिल्ला समितिहरु र देश भरका प्याब्सनिष्टहरुले सहयोग र सहजीकरण गरेका हुन् । प्याब्सन नुवाकोटले बाढीबाट पूर्णरूपमा क्षति भएका विद्यालयहरु उत्तरगया पब्लिक इङ्गलिस स्कुल बेत्रावती, मोर्डन ट्रिनिटी, रामचन्द्र आधारभूत लगायतका विद्यालयका दुईसय जना विद्यार्थीहरुलाई पाठ्यपुस्तक, स्टेशनरी, ड्रेस लगायतका आवश्यक सामग्रीसमेत निःशुल्क अध्ययनको व्यवस्था गरेको छ ।

नुवाकोटको बट्टारवजारमा रहेको अर्किड एकेडमी नुवाकोटले बाढी पीडित शिक्षकलाई आर्थिक सहयोग गरेको छ । विनासकारी बाढीका कारण उक्त एकेडेमीकी शिक्षक मिरा सुवेदी घरबारविहीन भएकी छन् । उनलाई अर्किड एकेडेमीका शिक्षक कर्मचारी, स्कुल र विद्यार्थीहरूको संयुक्त प्रयासबाट संकलित कुल एक लाख २१ हजार रुपैया हस्तान्तरण गरिएको हो । प्रिन्सिपल रामहरि रिमाललगायतले उक्त रकम हस्तान्तरण गरेका हुन् । अर्किड एकेडमी शिक्षक र कर्मचारीहरूको तर्फबाटः ६० हजार ६०, विद्यालयको तर्फबाटः ५० हजार र विद्यार्थीहरूबाट १० हजार ९ सय ४० रुपैया संकलन गरि शिक्षक सुवेदीलाई हस्तान्तरण गरिएको प्रिन्सिपल रिमालले वताए ।

यसअघि पनि अर्किड एकेडमीले प्याब्सन विपद कोषमा विद्यालयको तर्फबाट २० हजार, शिक्षक कर्मचारीहरूको एक दिनको तलब बराबरको ३७ हजार र विद्यार्थीहरूबाट संकलित १० हजार, गरि कुल ६७ हजार रुपैया हस्तान्तरण गरिसकेको छ । अकिंड एकेडमीले हालसम्म एकलाख ८८ हजार रुपैया बराबरको सहयोग प्रदान गरिसकेको छ । प्याब्सन नुवाकोटको तर्फबाट पनि शिक्षक सुवेदीले ६० हजार रुपैया प्राप्त गरेकी छन् ।

यसका साथै बाढीले ध्वस्त पारेको त्रिशूली सामुदायिक बोर्डिङ स्कुललाई तीनलाख र उत्तरगया बोर्डिङ स्कुललाई ३ लाख १९ हजार रुपैया सहयोग रकम प्याब्सन नुवाकोट मार्फत हस्तान्तरण गरिएको छ । हस्तमेमोरियल बोर्डिङ स्कुल दुप्चेश्वरका प्रिन्सिपल अञ्जली तमाङले विभिन्न दातामार्फत संकति रकम उक्त दुई विद्यालयलाई हस्तान्तरण गरिएको हो । यसका साथै बाढीले ध्वस्त पारेको उत्तरगया पब्लिक अंग्रेजी बिद्यालयलाई पुननिर्माण र पूर्नस्थापना गर्नको लागि इटलीको एल्कोमेडोरले सहयोग गरेको छ । उक्त विद्यालयलाई ल्यापटप र प्रिन्टर सहयोग प्राप्त भएको छ ।











































