हामी फेरी उठ्छौं
ल्हेन्देखोलावाट रसुवागढी हुदै भोटेकोशीवाट त्रिशूली नदीमा मिसिएको अकल्पनिय बाढीले प्रभावित पारेको नुवाकोटको विभिन्न स्थान हामी उठाउंछौं । हामी जन्मस्थान छोड्दैनौ । यात्रा केवल गन्तव्यको मात्र हुँदैन, यात्रा त जीवनका अनगिन्ती सम्झनाहरूको सँगालो हो र बसको त्यो रमाइलो सफर र पुराना साथीभाइहरूसँग बिताएका पलहरू आज पनि ताजा लाग्छन् । त्रिशूलीको त्यो प्रलय र मनभित्रको आँधी अहिले कहालीलाग्दो अतित वन्दैछ । भदौ १० गते वुधवार विहान १० वजेको त्यो कालो दिन, जीवनमा कसैलाई पनि कहिल्यै नपरोस् ।
त्यो दिन बिहानैदेखि चर्को घाम लागिरहेको थियो । जनैपुर्णिमाको तयारी अनि गोसाइकुण्ड जानेहरु पनि उत्तिकै थिए । जनजीवन सधैँझैँ सामान्य गतिमा चलिरहेको थियो । कसैलाई अलिकति पनि पत्तो थिएन कि केही बेरमै यहाँ एउटा सिङ्गो इतिहास मेटिँदैछ, हाम्रा सपनाहरू बग्दैछन् । एक्कासि त्रिशूलीमा भीषण बाढी आएको कुरा आगोको मुस्लो झैँ फैलियो । सुरुमा त हामी सबैले सोच्यौँ— त्रिशूलीमा बाढी आउनु सामान्य हो, वर्ष दिन अघि पनि ल्हेन्देखोला हुँदै बाढी आएकै त हो नि! तर, प्रकृतिको यस्तो भयावह, क्रूर र विनाशकारी रूप कसैको सोच र कल्पनामा पनि थिएन । त्यो महाविनाश घटेको आज सांढे दुई महिना भइसकेको छ ।
समय बित्दै गए पनि मनको घाउ निको भएको छैन । अझै पनि रातको समयमा झस्किएर ब्युँझिँदा आँखाभरि त्यही बाढीको उर्लँदो र गर्जँदो भेल घुमिरहन्छ । लागिरहन्छ, भर्खरै पानीको भेलले मलाई तान्दैछ । त्यो क्षण सम्झिँदा मात्रै पनि शरीर जिरिङ्ग हुन्छ, आङ जुरुक्क फुल्छ र ओठ थरथर काँप्छन् । लाग्छ, जीवनमा कस्ता–कस्ता दिन पनि भोग्नुपर्ने! बाढी आउनु ५ मिनेट अगाडिसम्म हावाकावा चल्दै गरेको, हाँसो र चहलपहलले भरिएको त्यो सुन्दर ढुंगे, त्रिशुली, देवघिाट, वेत्रावतिबजार, हाम्रा ऐतिहासिक सम्पदा र हामीले जीवनभर रगत–पसिना बगाएर कमाएको सम्पत्ति— हेर्दाहेर्दै १० मिनेटभित्रै त्रिशूलीको गर्भमा विलीन भयो । त्रिशूली नदीको त्यो एकै झट्काले हामीलाई सुकुम्बासी बनायो, सडकमा पछारिदियो ।
आँखैअगाडि आफ्नै कमाइ बगेर जाँदा केही गर्न नसकी टुलुटुलु हेरेर बस्नुपर्दाको त्यो लाचारी, त्यो छटपटी सम्झिँदा अहिले बहुलाउनु, न मर्नु जस्तै भएको छ । कहिलेकाहीँ निराशाको पराकाष्टामा पुग्दा, वर्तमानको यो दुःख देख्दा मनले भन्छ— बाढीले मलाई नै बगाएर लगेको भए आज यो दारुण र कहालीलाग्दो परिस्थिति त देख्नुपर्दैनथ्यो । फेरि सोच्छु— मैले नै हिम्मत हारेर गलत बाटो रोजेँ भने मेरो परिवारको, मेरा वालवच्चा र वृद्ध आमाबाबुको अवस्था के होला? मानिसहरू सान्त्वना दिँदै भन्छन्, “ज्यान बचे सम्पत्ति त फेरि कमाइहालिन्छ नि, चिन्ता नगर ।“ हो, ज्यान भन्दा ठूलो कुरा केही होइन । तर, फेरि कमाउनका लागि जग त हुनुप¥यो नि! आफ्नो भन्ने भूगोल नै नरहेपछि, सर्वस्व गुमाएर सडकको बास भएकाहरूले शून्यबाट कसरि र कहाँबाट नयाँ जीवनको सुरुवात गर्ने? यो प्रश्नले हरेक पल मन पोलिरहन्छ ।
हामीसँग राज्य छ, स्थानीय, प्रदेश र संघीय तीन तहको सरकार छ । लाग्थ्यो, संकटको यो घडीमा सरकार अभिभावक बनेर आउनेछ, पीडितको घाउमा मलम लगाउनेछ । तर, त्यो आशा अब केवल भ्रम र राजनीतिक नारा जस्तो मात्र साबित हुँदैछ । बाढी गएको साढे दुई महिना हुन लाग्दासम्म सरकार अझै ’अनुसन्धान’ र ’कागजी प्रक्रिया’ मै अल्झिएको छ । त्रिपालमुनि बसेका पीडितहरू भोलि के खाने, ओत कसरी लाग्ने र यो चिसो मौसम कसरि कटाउने भन्ने चिन्तामा छटपटाइरहेका छन् । सिंहदरबार र सरकारी कुर्सीमा बस्नेहरूको प्राथमिकतामा सायद हामी कहिल्यै परेनौँ । अहिलेसम्म विभिन्न संघ–संस्था, मनकारी दाता र साथीभाइले दिएको राहत र सहयोगको भरमा चुल्हो त बलिरहेको छ, दिन त कटिरहेको छ । तर, सधैँ अर्काको भरमा कति दिन चल्छ? अब बिस्तारै राहतका हातहरू पनि रोकिँदै जानेछन् । त्यसपछि ती असहाय पीडितहरू कहाँ जाने? के खाने? यो अन्योलले रातको निन्द्रा र दिनको भोक हराम गरिदिएको छ ।
विपत्तिले त हाम्रो अवस्था हेरेन–हेरेन, न दशैं, न तिहार चाडपर्वले पनि “यसपालि तिमीहरू पीडामा छौ, म आउँदिनँ“ भन्दैन रहेछ । बाढी गएको केही समयमै दसैँ, तिहार र छठ जस्ता ठूला चाडपर्वहरू घरआँगनमा आइपुगे । अरूका घरमा बत्ती बलेको, हाँसो र खुसीयाली छाएको देख्दा हाम्रो अँध्यारो त्रिपालभित्र मन भक्कानिएर आउँथ्यो । विगतका वर्षहरूमा नयाँ लुगा, मीठो खानेकुरा र उज्यालो प्रकाशले सिङ्गो बजार झलमल्ल हुन्थ्यो । तर, यसपालि चाडबाड आउँदा मनभित्र उमङ्गको एउटा सानो त्यान्द्रो पनि थिएन । केवल ती अबोध बालमस्तिष्कको रहर पूरा गर्न र वृद्ध आमाबाबुको मुहारमा कृत्रिम हाँसो ल्याउनकै लागि भए पनि, भित्रभित्रै आँसु पिउँदै चाडबाडको औपचारिकता निभाउनुप¥यो। अक्षता लगाउँदा र दियो बाल्दा मन रोइरहेको थियो ।
यस्तो बेला विगतका उज्याला दिनहरू सम्झना आउँछन् । सँगै हाँसेका, खेलेका र सुख–दुःख साटेका ती छिमेकी र साथीभाइको अनुहार आँखामा नाच्छ, जो आज यो संसारमा छैनन् र अब कहिल्यै फर्किने छैनन् । उनीहरूको यो अनन्त रिक्तता देख्दा कहिलेकाहीँ जीवन नै अर्थहीन र बोझ झैँ लाग्छ । चाडबाड त आयो र गयो, तर यसले हाम्रो मनमा छोडेर गएको शून्यता शब्दमा बयान गर्न सकिँदैन । बाढीको त्यो क्रूर भेलले हाम्रो घर, सम्पत्ति, बजार र पुराना सम्झनाहरू त बगायो, तर एउटै कुरा बगाउन सकेन— त्यो हो ब्यबसाय र जीवन चलाउन बैंक तथा व्यक्तिहरूबाट लिएको ऋण! बाढीले त कसैको आग्रह–पूर्वाग्रह हेरेन । बैंकको ब्याज र किस्ताले त पीडित भन्दैन रहेछ।
कहिलेकाहीँ त लागिरहन्छ— प्रकृतिको त्यो बाढीले मेरो सम्पत्ति निले जस्तै मेरो थाप्लोमा रहेको यो ऋणको भारी पनि निलिदिएको भए हुन्थ्यो । यद्यपि, निर्दयी यथार्थ हामीले सोचेजस्तो कहाँ हुनु र? सम्पत्ति बगाएर त्रिशूलीले लग्यो, ऋण तिर्ने भारी भने हाम्रै थाप्लोमा छोडेर गयो । आखिर मान्छे न हुँ, जतिसुकै रोए पनि, कराए पनि बगेको समय र सम्पत्ति फर्किएर आउँदैन । त्यसले मनलाई जबर्जस्ती बुझाउँछ— हिम्मत हार्नु हुँदैन।
प्रकृतिको त्यो ताण्डव रूपले घरका भौतिक भित्ताहरू मात्र भत्काएन, मनको एउटा बलियो कुना पनि भत्काएर गयो । बगेका सामान र भत्किएका संरचनाका बीच उभिएर अहिले भन मैले जीवनको एउटा ठूलो यथार्त बुझेँ— जीवन हामीले सोचेभन्दा धेरै कमजोर रहेछ । संकटको अजंगको महासागरमा पौडिएर बाहिर निस्कने मानिसको हिम्मत भने सोचेभन्दा धेरै बलियो हुँदो रहेछ । ढिलोचाँडो, हामी फेरि उठ्नेछौँ, हाम्रो वजार, बस्ती, खण्डहर हटाएर फेरी जाग्नेछौं ।











































