बाढी प्रभावित परिवारलाई नगद

– मृतक तथा बेपत्ता परिवारलाई सहयोग
लोकखबर
२०८३ कार्तिक २२, शनिबार २१:३१

बिदुर – ल्हेन्देखोलावाट रसुवागढी हुदै भोटेकोशीवाट त्रिशूली नदीमा मिसिएको अकल्पनिय बाढीमा परि मृत्यु तथा बेपत्ता भएका व्यक्तिलाई नुवाकोटको लच्याङमा आर्थिक सहयोग प्रदान गरिएको छ । सांढे दुई महिना अगाडिको बाढीमा परि मृत्यु तथा वेपत्ता भएकाको परिवारलाई उक्त नगद हस्तान्तरण गरिएको हो ।

गत भदौ १० गते प्रलयकारी बाढीमा परी मृत्यु भएका एकजना तथा बेपत्ता भएका तीन जनाका परिवारलाई सुर्यगढी गाउंपालिका १ वडाको पहलमा प्रति परिवार  १/१ लाख रुपैयाका दरले नगद आर्थिक सहयोग प्रदान गरिएको छ । रेभेज नेपलीज फ्रान्सको तर्फबाट उक्त सहयोग रकम सूर्यगढी गापा १ का वडाध्यक्ष राजकुमार तामाङ (रञ्जित) मार्फत पीडित परिवारका आफन्तहरूलाई हस्तान्तरण गरिएको हो ।

मृतक मोतिलाल तामाङका छोरा राजु तामाङ, बेपत्ता दिवस तामाङकी आमा कृष्णमाया तामाङ, बेपत्ता सञ्जीव तामाङका वावु आइतमान तामाङ र बेपत्ता जगत तामाङकी श्रीमती करिश्मा तामाङलाई सहयोग रकम प्रदान गरिएको वडाध्यक्ष राजकुमार तामाङ (रञ्जित) ले जानकारी दिए । उनका अनुसार विपदको समयमा पीडित परिवारको पीडामा मलम लगाउने उद्देश्यले आर्थिक सहयोग प्रदान गरेको रेभेज नेपलीज फ्रान्स र समन्वयकर्ताे सामाजिक ब्यक्ति मण्डला ट्रेकिङ एजेन्सीका भीम गोलेतामाङ प्रति सूर्यगढी गापा र वडा कार्यालयले हार्दिक आभारसहित धन्यवाद व्यक्त गरेको छ ।


सर्वाधिक रुचाइएको