बाढी प्रभावितस्थलमा पशु उपचार
बिदुर – पशुपालक किसानहरुको सुविधाका लागि नुवाकोटको तुप्चेमा पशु उपचार शिविर गरिएको छ । बाढी प्रभावितहरुको सुविधाका लागि पशु उपचार शिविर गरिएको हो । विदुर नगरपालिका र एफएओ नेपालको सहकार्यमा विदुर नगरपालिका–७, तुप्चेटारमा निःशुल्क पशु स्वास्थ्य शिविर समपन्न भएको हो । शिविरमा एकसय ८९ घरधुरीका किसान लाभान्वित भएका छन् ।
बाढीपछिको अवस्थामा पशुपन्छीको स्वास्थ्य, उत्पादनशीलता वृद्धि तथा सम्भावित पशुजन्य रोगको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको हो । विदुर नगरपालिकाको पशु सेवा शाखाको आयोजनामा तथा एफएओ नेपालको प्राविधिक सहयोगमा सञ्चालित शिविरबाट एकसय ८९ घरधुरीका २ सय ८८ जना किसानका पशु पशुजन्य उपचार गरिएको छ । शिविरमा सर्वसाधारणको गाई, भैँसी, बाख्रा, बंगुर, कुकुर र कुखुरालगायतका तीनहजार पांचसय पशुपन्छीमा परजीवी नियन्त्रणसम्बन्धी सेवा प्रदान गरिएको थियो ।

शिविरमा एकसय ७० पशुको सामान्य उपचार, प्रजनन स्वास्थ्य समस्या भएका ३६ पशुको परीक्षण तथा ४१ जना किसानलाई पशुपालन, स्वास्थ्य र व्यवस्थापन सम्बन्धि प्राविधिक परामर्श दिइएको आयोजक बिदुर नपाले जनाएको छ । शिविरमा पशुचौपायाको प्रजनन समस्या, अनियमित ऋतुचक्र, भोक नलाग्ने, पोषण तथा खनिज तत्त्वको कमी, हाइपोक्याल्सेमिया, थुनेलो, घाउचोट, लङ्गडोपन तथा लम्पी स्किन डिजिजलगायतका समस्याको पहिचान, उपचार र व्यवस्थापनसम्बन्धी सेवा उपलब्ध गराइएको थियो । यसैगरी, पशुपालनमा जैविक सुरक्षाको महत्तत्वलाई ध्यान दिदै किसानहरुलाई एकसय ९० जोर बुट वितरण गरिएको थियो ।
शिविरबाट लाभान्वित किसानमध्ये ४६ दशमलव ७ प्रतिशत महिला रहेका छन् । कार्यक्रममा जिल्ला पशु सेवा कार्यालयका डा. केशव खरेल, विदुर नगरपालिकाकी डा. सुजाता अधिकारी, विषयविज्ञ डा. सुदीप कोइराला, एफएओ नेपालका डा. सुरेन्द्र कार्की, राकेश शाह, फिल्ड संयोजक डा. किरण भण्डारी तथा फिल्ड भेटेरिनरी चिकित्सक डा. दीपेन्द्र लम्साललगायतको सहभागिता रहेको थियो । शिविरले बाढी प्रभावित क्षेत्रका स्थानीय किसानहरुलाई पशु स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउनुका साथै पशुपन्छीको स्वास्थ्य, उत्पादनशीलता र जैविक सुरक्षाबारे सचेतना अभिवृद्धि गरेको छ । स्थानीय सरकार र प्राविधिक संस्थाबीचको सहकार्यमा समुदायस्तरमै पशु स्वास्थ्य सेवा प्रभावकारी भएको स्थानीय कृषकहरुले वताएका छन् ।











































