पौडेल समूहको रणनीति–एक्लाएक्लै उमेदवारी घोषणा नगर्ने

लोकखबर
१६ श्रावण २०७७, शुक्रबार १३:३०

मकवानपुर । नेपाली कांग्रेसको संस्थापनइतर समूह आशन्न महाधिवेशनमा जसरी पनि सभापति शेरबहादुर देउवालाई पराजित गर्नुपर्ने भन्दै आन्तरिक रणनीतिमा जुटेको छ । सभापति देउवाबाट पार्टी सञ्चालन नहुने निष्कर्ष निकालेर संस्थापनइतर समूह १४औं महाधिवेशनमा उनीविरुद्ध घेराबन्दी गर्ने दाउमा देखिएको छ ।

सोही रणनीतिअनुसार वरिष्ठ नेता रामचन्द्र पौडेलको समूहमा सभापति पदका झन्डै एक दर्जन आकांक्षी भए पनि कसैले पनि सार्वजनिक रुपमा उम्मेदवारका रुपमा दाबी गरेका छैनन् । पौडेलनिकट स्रोतका अनुसार उनीहरुका बीचमा अहिले नै कसैले पनि सभापतिका लागि एक्लाएक्लै उम्मेदवारी घोषणा नगर्ने आन्तरिक सहमति बनेको छ ।

संस्थापनइतर समूहमा रहेका केन्द्रीय सदस्य प्रकाशमान सिंहले आफूहरु देउवाविरुद्ध प्रभावशाली टिम बनाउनका लागि आन्तरिक गृहकार्यमा लागेका बताएका छन् । “हाम्रो चाहना भनेको दुईजना मात्रै हुनुपर्छ भन्ने हो । हाम्रो वर्कआउट पनि शेरबहादुर देउवाविरुद्ध एउटा इफेक्टिभ टिम बनाउनपर्छ भनेर भइरहेको छ,” उनले बाह्रखरीसँगको अन्तर्वार्तामा भनेका छन् ।

सिंहले वर्तमान सभापति देउवाबाट अगामी दिन पार्टी सञ्चालन नहुने निष्कर्षमा पुगेका सबै नेताहरु एक ठाउँमा उभिएर आगामी महाधिवेशनमा होमिनुपर्नेमा पनि जोड दिए । १३औं महाधिवेशनबाट कांग्रेसमा तेस्रो समूहका नेता कृष्णप्रसाद सिटौला पनि सभापति देउवाबाट पार्टी चल्न नसक्ने भन्दै उनीविरुद्ध सवै एक ठाउँमा उभिनुपर्ने पक्षमा देखिएका नेता सिंहको भनाइ छ ।

“शेरबहादुरजीबाट अब यो पार्टी चल्दैन भन्ने जो-जो साथीहरु हुनुहुन्छ हामी सबै एक ठाउँमा बस्नुपर्छ,” उनले भने, “सिटौलाजीले पनि शेरबहादुरजीबाट पार्टी चल्दैन भनिसक्नुभएको छ । हामी एक ठाउँमै बसिराख्छौं ।”

वरिष्ठ नेता पौडेलले पनि आफूनिकटका एक दर्जन बढी नेताहरु साथमा राखेर बिहीबार पत्रकार सम्मेलनमार्फत् सभापति देउवाविरुद्ध इतर समूह मोर्चाबन्दीमा लागेको सन्देश दिएका छन् । उनले पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा आफ्नो समूहका सभापतिका आकांक्षीहरुलाई दायाँबायाँ राखेर आफूहरु महाधिवेशनसम्म एक भएर जाने दाबी गरे ।

पौडेलले ब्रिफिङ गरेको पत्रकार सम्मेलनमा महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्यहरु प्रकाशमान सिंह, शेखर कोइराला, अर्जुनरसिंह केसी, मीनेन्द्र रिजाल, चन्द्र भण्डारी, नवीन्द्रराज जोशी, दिलेन्द्रप्रसाद बडू, गुरुराज घिमिरे, रामकृष्ण यादव, सरिता प्रसाईं र किरण यादव उपस्थित थिए ।

पत्रकार सम्मेलनमा नेता पौडेलले भनेका थिए, “महाधिवेशनसम्म हामी एक भएर जान्छौं । पत्रकार सम्मेलननै गरेर उम्मेदवारी घोषणा गर्छौं । महाधिवेशनपछि नेपाली कांग्रेसमा कुनै गुट हुँदैन । १४औं महाधिवेशनले पार्टीमा गुटको अन्त्य गर्छ ।”बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published.


*