विदेशमा अलपत्र परेका ३७ हजार ४ सय नेपाली फर्किए, उद्धार जारी

मकवानपुर । कोरोना भाइरस संक्रमणका कारण विदेशमा अलपत्र परेका ३७ हजार ४२४ नेपाली स्वदेश फर्किएका छन् ।
गैरआवासीय नेपाली संघ, नेपाली दूतावास र कूटनीतिक नियोगलगायतसँगको सहकार्यमा उनीहरुको उद्धार गरिएको हो । हालसम्म विदेशमा रहेका नेपालीहरुको उद्धारका लागि हिमालय र नेपाल एयरलाइन्सले उडान गरिरहेका छन् । साउन १६ सम्म २४१ वटा उडान भएका छन् । सरकारले विदेशमा रहेका नेपालीहरुको उद्धारका लागि थप ५४ उडान गर्न अनुमति दिएको छ । उद्धार उडान आगामी शनिबार ९८ अगस्त० सम्म हुनेछ ।
चौथोपटक अनुमति दिइएका मुलुक तथा सहरमा जापान, मलेसिया, चीन, कुनमिङ, अस्ट्रेलिया, जेद्दा, दुबई, रियाद, कुवेत, कतार, दमाम, अबुधाबी र सारजाहा छन् । गैरआवासीय नेपाली संघले ती स्थानमा रहेका आफ्ना समन्वय समितिलाई आवश्यक सबै सहयोग गर्न निर्देशन दिइसकिएको गैरआवासीय नेपाली संघको ‘कोभिड १९’ उच्चस्तरीय समितिको प्रेस संयोजक चिरन शर्माले जानकारी दिए ।
उनका अनुसार यो साता भारतसहित २९ मुलुकबाट उद्धार उडान भएको थियो । सबैभन्दा बढी नेपाली फर्किएको देश यूएई हो । यूएईबाट ८ हजार ५३८ नेपाली स्वदेश फर्किएका छन् । कुवेतबाट ६ हजार १७९ जना, मलेसियाबाट ३ हजार ५८७ जना साउदीबाट ५ हजार ६११ जना नेपाली स्वदेश फर्किएका छन् ।
भारतमा कोरोनाले २५ जना नेपालीको ज्यान गयो, विदेशमा १८९ नेपालीको मृत्यु
यस्तै सरकारले ‘कोभिड-१९ को विश्वव्यापी संक्रमणको कारण वैदेशिक रोजगारीका क्रममा अलपत्र परेका नेपाली कामदारको उद्धार गरी स्वदेश फिर्ता गर्नेसम्बन्धी निर्देशिका, २०७७” स्वीकृत गर्दै विदेशमा अलपत्र नेपालीलाई उद्धार सुरु गरेको छ । सरकारले वैदेशिक रोजगारीमा गएका र अलपत्र परेका नेपालीहरुको उदारको लागि ७५ करोड छुट्याएको छ । बाह्रखरी डटकमबाट