स्वास्थ्यकर्मीमा संक्रमणले विराटनगरका अस्पतालको सेवा ठप्प

लोकखबर
१८ श्रावण २०७७, आईतवार १५:२१

मकवानपुर । अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीहरूमा धमाधम कोरोना संक्रमण देखिन सुरु भएपछि विराटनगरका अस्पतालहरूले आकस्मिकबाहेक सबै सेवा बन्द गरेका छन् ।

सबैभन्दा पहिले अघिल्लो साता विराट अस्पताल(विराट नर्सिङ होम) का वरिष्ठ चिकित्सकसहित चार स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको थियो । चिकित्सक र स्वास्थ्यकर्मी नै संक्रमणको सिकार भएपछि विराट अस्पताल सिल गरिएको छ ।
पछिल्लो न्युरो अस्पतालको इमरेजेन्सीका अर्का एक चिकित्सकमा पनि कोरोना देखिएको छ । न्यरोले हिजो साँझबाटै अस्पतालको आकस्मिक वार्ड सिल गरिसकेको छ । अस्पताल सञ्चालकका अनुसार इमरेन्सी वार्डलाई सिल गरी पूर्णतः निर्मलीकरण नगरुन्जेल सञ्चालन गर्ने कुनै योजना छैन ।

अस्पतालले दुई महिनाअघि नै कोभिडको सम्भावित जोखिम मध्यनजर गर्दै कोभिड व्यवस्थापन समिनि गठन गरेको थियो । समिति अध्यक्ष रञ्जितराज बस्नेतले अस्पताल जनस्वास्थ्य र नागरिकको स्वास्थ्य सरोकारप्रति जिम्मेवार भएको बताएका छन् । सोहीअनुरूप इमरेन्जी वार्ड प्रोटोकलअनुसारै सिल गरिएको जानकारी दिए । न्युरोले वैकल्पिक आकस्मिक वार्ड सञ्चालनमा ल्याई सेवा सुरु गरिसकेको छ । न्युरो टाउको र मुटुसम्बन्धी उपचार गर्ने प्रदेश १ कै अग्रणी अस्पताल हो । यहाँ उपचारका लागि छिमेकी भारतबाट समेत धेरै बिरामी आउने गर्छन् ।

कोसी अस्पतालका नर्समा संक्रमण देखिएप्छि पोस्टनाटल वार्ड सिल भएको छ । पछिल्लोपटक फिभर क्लिनिकमा आएका एकजना संक्रमितको उपचारका क्रममा धरानस्थित बीपी प्रतिष्ठाना मृत्यु भएको थियो । मोरङको सुनवर्षी नगरपालिका वडा ८ का ४५ वर्षीय पुरुषको मृत्यु भएपछि कोसी अस्पतालले ओपीडी सेवा अनिश्चितकालका लागि बन्द गरिसकेको छ । अस्पतालका मेसु चुमनलाल दास भन्छन्, “जोखिम बढ्दै गएकाले हामीले ओपीडी बन्द गर्ने निर्णय लिएका हौं ।” उनले अर्को सूचना नआएसम्म ओपीडीको सेवा सुरु गर्न नसिकने जनाएका छन् ।

विराटनगर महानगरपालिकाको जनस्वास्थ्य महाशाखाले विराटनगरको म्याक्स अस्पतालसँग सम्बन्धित एकजना कर्मचारीमा कोरोना संक्रमण देखिएको जनाएको छ । तर, अस्पतालले भने ती संक्रमित कर्मचारी नभएर बिरामी भएको दाबी गरेको छ । अस्पतालले आकस्मिकबाहेक सेवा सञ्चालन नगरिएको जनाएको छ ।

नेपाल चिकित्सक संघ कोसीका अध्यक्ष डा. फरवार्ड सिलवाल अहिलेको परिस्थितिमा अस्पतालको आकस्मिकबाहेक सेवा सञ्चालन गर्न सक्ने अवस्था नरहेको बताउँछन् । सिलवालले भने, “हामीले आकस्मिकबाहेक सबै सेवा बन्द गर्न अस्पताल, स्थानीय र प्रदेश सरकारलाई समेत आह्वान गरिसकेका छौं ।” सिलवालका अनुसार धेरै अस्पतालले बहिरंगलगायत सेवा सञ्चालन गरेका छैनन् ।

चिकित्सक सिलवालले अहिले विराटनगरमा कोरोनाको संक्रमण फैलँदो अवस्थामा पुगेकाले सामान्य बिरामी भए अस्पताल नजान बरु अन्य माध्यमबाट परामर्श लिएर उपचार गर्न नागरिकलाई आह्वान गरिएको बताए । भने, “अस्पतालमा संक्रमणको दर बढ्दै जानुले हामीलाई पनि चिन्तित बनाएको हो ।” संघका तर्फबाट सिलवालले विज्ञप्ति जारी गरी आकस्मिकबाहेक सेवा सञ्चालन गर्न नसकिने जनाएका छन् ।बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*