बालुवाटारमा विज्ञसँग प्रधानमन्त्रीको परामर्श सुरु, लकडाउन र कोरोना नियन्त्रणका उपायबारे छलफल हुने

लोकखबर
२० श्रावण २०७७, मंगलवार १२:०४

मकवानपुर ।समुदायमा संक्रमणसँगै कोभिड-१९ नयाँ चरणमा प्रवेश गरेपछि नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले जनस्वास्थ्य विज्ञहरूसँग परामर्श गरिरहेका छन् ।

मेडिकल एसोसिएसनका अध्यक्षलगायत जनस्वास्थ्यका क्षेत्रमा क्रियाशीलहरूलाई निवासमा बोलाएर प्रधानमन्त्री ओलीले परामर्श गरिरहेको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । छलफल साढे ११ बजेबाट सुरु भएको हो ।

कोरोना नियन्त्रण प्रभावकारी बनाउने र दोस्रो चरणको लकडाउनको मोडालिटीमा जानुपर्ने, नपर्नेबारे पनि प्रधानमन्त्रीले परामर्श गर्ने बुझिएको छ ।

जनस्वास्थ्यविज्ञसँग प्रधानमन्त्रीको यो दोस्रो चरणको छलफल हो ।

यसअघि पनि लकडाउन खुकुलो बनाउन र परीक्षणलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीले विज्ञसँग परामर्श गरेका थिए । मंगलबारको छलफल यसैको निरन्तरता भएको स्रोतले जानकारी दियो । प्रधानमन्त्री ओलीले गत जेठ २१ गते यस्तै परामर्शको आयोजना गरेका थिए । त्यतिबेला विज्ञहरूले क्वारेन्टिनको सुधार, परीक्षणको दायरा बढाउन सुझाव दिएका थिए ।

कोरोना संक्रमण समुदायमा फैलिएपछि स्थानीय तहले आवागमन रोक्नेदेखि निषेधाज्ञा लगाउनेसम्म निर्णय लिन थालेका छन् । पछिल्लो समय प्रदेश १ र २ उच्च जोखिममा छन् । वीरगन्ज, विराटनगर महानगरपालिकामा जोखिम डरलाग्दो देखिएको छ । उपत्यका प्रवेश गर्ने नाकामा गरेको परीक्षण र त्यसको नतिजाका आधारमा काठमाडौं, ललितपुर, भक्तपुर पनि जोखिममै रहेको विज्ञहरूले औंल्याएका छन् ।

“संक्रमणको अवस्था हेर्दा अहिलेसम्म नियन्त्रणमै छ भन्न सकिन्छ । कस्तो रणनीति अपनाउँदा यसलाई न्यूनीकरण गर्न सकिन्छ भनेर छलफल गर्न लागेको बुझेका छौं,” प्रधानमन्त्रीनिकट स्रोतले भन्यो । बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*