२२ संक्रमित भेटिएपछि मोरङको रंगेली बजार बन्द, सुनसरीको दुहबीमा लकडाउन

लोकखबर
२० श्रावण २०७७, मंगलवार १४:०८

मकवानपुर । मोरङको पुरानो जिल्ला सदरमुकाम रंगेलीमा संक्रमणको स्रोत नखुलेका कोभिड १९ संक्रमित फेला परेपछि बजार बन्द गरिएको छ । तीव्र संक्रमणको दृष्टिले ‘हटस्पट’ बन्न सक्ने खतरा भएपछि नगरपालिकाले बजार बन्द गराएको छ ।

एकै परिवारका १४ जनासहित २२ जनामा एकै दिन कोभिड १९ को संक्रमण देखिएपछि रंगेली नगरपालिका क्षेत्रमा मंगलबारदेखि बजार बन्द गराइएको छ । नगरपालिकाले सूचना जारी गरी वडा ७ का साथै ४, ६ र ८ मा मानिसको आउजाउमा कडाइ गरेको छ । पसलहरु बन्द गराइएको छ । बिहानैदेखि बजार क्षेत्रमा खटिएका सुरक्षाकर्मीले मानिसलाई अति आवश्यकबाहेक बाहिर ननिस्कन आग्रह गरिरहेका छन् । रंगेली बजार बिहानैदेखि सुनसान देखिएको छ । सवारी चलेका छैनन् । पसल बन्द छन् । मानिसहरुको आउजाउ पनि छैन ।

रंगेली नगरपालिकाका मेयर दिलिप बगडियाका अनुसार संक्रमण समुदायमा तीव्र गतिमिा नफैलियोस् भनेर सावधानी अपनाउँदै रंगेलीमा बजार बन्द गरिएको बताएका छन् । उनले भने, “संक्रमण के कसरी फैलिएको हो भनेर अध्ययनसमेत सुरु गरिसकेका छौं । थप नागरिकमा कोरोना परीक्षण गर्ने तयारीसमेत थालिएको छ ।”

संक्रमित परिवारका सदस्यबाहेक पाँचजना विद्युत प्राधिकरण रंगेली वितरण केन्द्रमा कर्मचारी कर्मचारी हुन् । यसैगरी तीनजना जिल्ला अस्पताल रंगेलीसँग सम्बन्धित छन् । अस्पतालका दुईजना प्राविधिक र एकजना सहयोगीमा संक्रमण देखिएको हो ।

बुधबार सोनवर्षी नगरपालिका ८, सक्टीका ४५ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।

विराटनगरको कोसी अस्पतालबाट धरान रेफर गरिएका सुनवर्षीका पुरुषको मृत्यु भएपछि रंगेलीमा समेत सतर्कता अपनाइएको थियो । उनलाई स्थानीय क्लिनिक र अस्पतालमा लगेको पाइएकोले १५६ जनाको स्वाब परीक्षण गरिएको थियो । रंगेली नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक भूपेन्द्र मण्डलका अनुसार परीक्षण अझै बढाउन पहल भइरहेको छ । प्राधिकरणका कर्मचारीमा देखिएको संक्रमणको स्रोत पनि खुलेको छैन ।

विराटनगरपछि रंगेली, सुनवर्षी र रतुवामाईमा कोरोना संक्रमितको संख्या अधिक देखिएको छ । सुनवर्षी नगरपालिकाले पनि समुदायस्तरमा कोरोना फैलन नदिन परीक्षण बढाउने तयारी थालेको छ ।

उता, समुदायस्तरमा संक्रमणको जोखिम बढ्न थालेसँगै सुनसरीको दुहबी पनि दुई साताको लागि लकडाउन गरिएको छ ।

अति आवश्यकबाहेकका काममा बाहिर निस्कन र पसल खोल्न रोक लगाइएको छ । पसल खोले ५ हजार रुपैयाँ जरिवाना गर्ने नगरपालिकाले चेतावनी दिएको छ । दुहबी नगरपालिकाका कर्मचारीसहित ४ जनामा कोरोना पुष्टि भएको छ ।

क्याप्सन स् बजार बन्द गराइएपछि सुनसान देखिएको रंगेली बजार र सुरक्षाकर्मी ।बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*