कोभिड– १९ले मृत्यु वागमती प्रदेशमा उच्च
मकवानपुर ।कोभिड–१९ को महाव्याधीले मृत्यु हुने प्रदेशमा वागमती प्रदेशले अन्य ६ प्रदेशलाई उछिनेको स्वास्थ्य मन्त्रालयका अधिकारीले जनाएका छन् । मृत्युदर उच्च भएको कारणले गर्दा पनि सरकारले साउन २२ गतेदेखि काठमाडौं उपत्यकामा आवागमनमा नियन्त्रण गर्नका लागि सवारी साधनमा जोर–बिजोर प्रणाली लागु गरेको हो ।
कुनै पनि जिल्लामा यदि संक्रमितको संख्या २०० भन्दा बढी भएको अवस्थामा स्थान–केन्द्रित लकडाउनका उपाय अपनाउने सरकारी नीतिअनुरुप काठमाडौं उपत्यकामा यो व्यवस्था गरिएको हो ।
कूल संक्रमितको संख्याको आधारमा वागमती प्रदेश छैठौं स्थानमा रहेको छ तर मृत्युदरमा भने यसले अरुलाई उछिनेको छ । साउन १९ गतेको तथ्यांकको आधारमा हेर्दा कूल संक्रमित २० हजार ७५० रहेका छन् जसमध्ये वागमती प्रदेशमा ५.७८ प्रतिशत अर्थात् कूल ३ हजार ५९० बिरामी देखिन्छन् । सोमबारसम्ममा वागमती प्रदेशमा मृत्यु हुनेको संख्या १० थियो । अर्थात् कूल बिरामीमध्ये यस प्रदेशमा ०.८३ प्रतिशत (करिब एक) देखिएको छ । जबकि अन्य प्रदेशमध्ये धेरै बिरामी देखिएको प्रदेश २ मा ०.३६ प्रतिशत, गण्डकीमा ०.३१, प्रदेश ५ मा ०.२३, कर्णालीमा ०.२० र सुदूरपश्चिम प्रदेशमा ०.१५ प्रतिशत मृत्यु देखिएको छ ।
देशको सर्वसुविधा सम्पन्न राजधानी रहेको स्थानमा सबैभन्दा धेरै मानिसको मृत्यु हुनुले यहाँका बासिन्दामा त्रास उत्पन्न हुनु स्वाभाविक भएको छ । वागमती प्रदेशमा संक्रमितमध्ये अनुपातको आधारमा सबैभन्दा धेरै मृत्यु हुनुको कारणका विषयमा सरकारले अझै खोज गरेको वा नगरेको स्पष्ट भएको छैन ।
महिलामा मृत्युदर बढी
लिंगको आधारमा हेर्दा विश्वमै महिलालाई भन्दा पुरुषलाई यो रोगले धेरै संक्रमण गरेको देखिएको छ, त्यसमा पनि नेपालमा महिला संक्रमितको संख्या कूल संख्याको केवल १५ प्रतिशत देखिएको छ, तर मृत्यु दरको आधारमा हेर्दा महिलाको मृत्यु धेरै देखिएको छ ।
स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांकको आधारमा महिलाको मृत्यु दर ०.३६ प्रतिशत देखिएको छ भने पुरुषमा यही दर ०.२७ प्रतिशत मात्र छ । तर संख्याको आधारमा अत्यधिक पुरुषमा संक्रमण भएको हुनाले मृत्युको संख्यामा भने पुरुष ४६ पुगेका छन् भने महिला ११ मात्र (साउन १९ गतेको तथ्यांकको आधारमा)।
कलिला बच्चामा प्रतिरोध कम
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साना बच्चामा रोग प्रतिरोधात्मक क्षमता बढी हुने भएकोले स्कूल खोल्नुपर्छ भनेर तर्क गर्दा अहिले त्यहाँ निकै ठूलो विवाद देखिएको छ । नेपालको सन्दर्भमा पनि राष्ट्रपति ट्रम्पको भनाई गलत प्रमाणित भएको भन्न सकिन्छ । स्वास्थ्य मन्त्रालयको प्रतिवेदनका अनुसार भर्खरै जन्मिएकादेखि दशवर्ष उमेर समूहका बाल–बालिकाको मृत्युदर ०.३५ देखिएको छ, जुन राष्ट्रिय अनुपात ०.२७ भन्दा बढी नै हो ।
तर, ११ वर्ष देखि २० वर्षका किशोर र युवामा भने मृत्युदर केवल ०.०३ प्रतिशत मात्र देखिएको छ, जुन सबै उमेर समूहमा सबैभन्दा कम हो । कोभिडबाट तुलनात्मक रुपमा सबैभन्दा बढी मृत्यु हुनेमा ८० वर्ष माथिको समूह देखिएको छ, जसमा मृत्यु दर ९.५२ प्रतिशत रहेको छ । तर, अहिलेसम्म यो उमेर समूहमा केवल २ जनाको मात्र मृत्यु भएको छ ।
त्यसपछिको समूहमा ६१ देखि ७० वर्षका व्यक्ति देखिन्छन्, जुन समूहमा मृत्युदर ३.३२ प्रतिशत देखिएको छ । ७१ देखि ८० मा ३.३ प्रतिशत र ५१ देखि ६० वर्ष उमेर समूहमा १.२९ प्रतिशत मृत्युदर देखिएको छ । ४१ देखि ५० समूहमा ०.६३ र ३१ देखि ४० को समूहमा ०.१२ प्रतिशत मृत्यु देखिएको छ । बाह्रखरी डटकमबाट