निगम कर्मचारी ७ दिन काममा आउने, ७ दिन नआउने

लोकखबर
२७ श्रावण २०७७, मंगलवार ११:४०

मकवानपुर । नेपाल आयल निगमका कर्मचारी ७-७ दिनको रोटेसन काममा आउनुपर्ने भएको छ । निगमका सबै कार्यालय तथा डिपोले सोहीअनुसारको ड्युटी रोस्टर बनाइ काम गर्ने भएका हुन् ।

देशमा कोभिड-१९ संक्रमण बढेको अवस्थामा निगमले सम्भावित जोखिम कम गर्न विभाग, कार्यालय तथा डिपोले कमभन्दा कम कर्मचारीमार्फत काम गर्नेगरी ड्युटी रोस्टर बनाउने भएका हुन् । निगमको योजना, प्रशासन तथा मान संसाधन विकास विभागले आफू मातहत सबै कार्यालयलाई गरेको परिपत्रमा ती कार्यालयले रोस्टर बनाएर आफूलाई जानकारी गराउन उल्लेख छ ।

कोभिड-१९ बाट बच्‍न निगमको सेवा निरन्तर सञ्चालन गर्न भन्दै निगम व्यवस्थापनबाट यस्तो निर्णय गरेको हो । विभागले जारी गरेको परिपत्रमा सात दिन कार्यालय आउने र सात दिन नआउने व्यवस्था गर्न उल्लेख छ ।

निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले बाह्रखरीसँग भने, “निकै कठिन समय आएको छ । यस्तोमा इन्धनको आपूर्ति व्यवस्था बिथोलिन नदिन निगमलाई ठूलो चुनौती छ ।” उनका अनुसार निगमको कोर अपरेसनको काम गर्न सक्ने सयजना मात्र कर्मचारी छन् । ती सबै फिल्डमा हुन्छन् । र, उनीहरूलाई संक्रमण देखिए मुख्य अपरेसनको कामै ठप्प हुन्छ ।
उनले भने, “डिप लिने, गुणस्तर कायम गर्ने कामजस्ता पूर्ण प्राविधक काम अर्को व्यक्तिबाट गराउन सकिँदैन । त्यसकारण आपूर्ति बिथोलिन सक्छ ।”

पौडेलले ७-७ दिनमा पीसीआर परीक्षण गर्दा कोभिड-१९ को संक्रमणको संकेत देखिने र सोहीअनुसार व्यवस्थापन गर्न सकिने भएकाले ७-७ दिनको रोटेसनका लागि निर्देश गरिएको बताए ।

अत्यावश्यक वस्तु पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन तथा ग्यासको आपूर्ति हेर्ने निगम यो परिवेशमा कर्तव्यविमुख हुन नहुने उनी बताउँछन् । जसकारण रोटेसनका आधारमा ड्युटी रोस्टर बनाइएको हो । कार्यकारी निर्देशक पौडेलले कुनै पनि डिपोमा संक्रमण देखिए, दुई दिनमै पुनः सञ्चलान गर्ने सकिने तयारी भएको पनि जानकारी गराए ।

पेट्रोलियम पदार्थको सहज आपूर्ति बनाउन तथा सुरक्षित तवरले कार्यालय सञ्चालन गर्न गरिने व्यवस्थाअनुसार ड्युटी रोस्टरबमोजिम घरमै बस्‍ने कर्मचारीको कार्यालय आएसरह मानिनेछ ।

यसो त कार्यालय नआएका कर्मचारीले आवश्यकताअनुसार घरमै बसेर विद्युतीय माध्यमबाट काम गर्नुपर्नेछ । निगमका चालकहरूको हकमा भने कमभन्दा कम चालकलाई खटाउने गरी प्रशासन विभागले निगरानी गर्ने छ । निगमका सेवाग्राहीलाई कुनै कार्यालय प्रवेश गर्न दिइने छैन । उनीहरूले ल्याएको कागजात प्रवेशद्वारबाटै बुझ्ने व्यवस्था निगमले मिलाउने भएको छ ।

ड्युटी रोस्टरमा परेका र निगमको सवारी प्रयोग नगर्ने कर्मचारीलाई पिकअप ड्रप गर्न २ वटा माइक्रोभ्यानको व्यवस्था निगमले गरेको छ ।

यसो गर्दा पनि कोभिड-१९ संक्रमण भए सुरक्षित आइसोलेसन तथा क्‍वारेन्टिनको व्यवस्था गर्न मानव संसाधन विभागले परिपत्र गरेको छ । जसअनुसार केन्द्रीय कार्यालय, हवाई इन्धन डिपो सिनामंगल, र थानकोट डिपोका लागि १० वटा कोठाको सुरक्षित घर वा होटल भाडामा लिएर राख्‍न परिपत्रमा उल्लेख छ । ६ प्रादेशिक कार्यालय, इन्धन डिपो नेपालगन्ज, जनकपुर तथा शाखा कार्यालय झापा र वीरगन्जका लागि ५-५ कोठा तथा दाङ र दिपायलका लागि २-२ वटा कोठा भाडामा लिन निर्देश गरिएको छ ।

यसैगरी कुनै पनि कार्यालयमा कोभिड-१९ संक्रमण पुष्टि भए कार्यालय सञ्चालन गर्न केन्द्रीय कार्यालयले १० सदस्यीय दुईवटा स्पेसल ब्याकअप टिम पनि तयार गर्नेछ । बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*