मकवानपुरगढीमा एकैघरका ४ सहित ५ जनालाई संक्रमण

मकवानपुर । मकवानपुरको मकवानपुरगढीमा कोरोना संक्रमितको संख्या ५ पुगेको छ । मकवानपुरगढी ३ का एकैघरमा चार जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मकवानपुरगढी ३ मा २३ महिनाकी बालिकासंगै एकै घरका चार जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसअघि मकवानपुरगढी ५ मा एकजनामा संक्रमण पुष्टि भएको थियो । श्रीमान् श्रीमती, बुहारी र २३ महिनाककी नातिनीमा संक्रमण पुष्टि भएपछि उनीहरु अहिले घरमै आइसोलेसनमा बसेका छन् । सुरक्षित आइसोसनमा बस्ने ठाउँ अभाव भएपछि घरमै बस्नुपरेको हो ।
मकवानपुरमा कोरोना भाइरसको जोखिम बढेको भन्दै अहिले निशेधाज्ञा जारी गरिएको छ । मकवानपुरमा हिजो एकै दिन ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
कोरोना संक्रमण समुदायमै फैलिने जोखिम बढेपछि मकवानपुरका विभिन्न ठाउँमा सुरक्षा सचेतना अपनाउन थालिएको छ ।
बकैया गाउँपालिकाको वडा नम्बर ४ मा एकै घरमा ३ जना भाइरस पुष्टि भएपछि ३५ वटा घर शिल गरिएको छ भने संक्रमणको जोखिममा रहेका आशंका गरिएकाहरुको आज स्वाब संकलनको तयारी भइरहेको बकैया गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष राजन दंगालले जानकारी दिए ।