हेटौंडामा फुडबैंक : हुनेले दिने र नहुनेले लिने थलो

मकवानपुर । मकवानपुरको हेटौंडामा मदन भन्डारी फाउन्डेशन मकवानपुरले संचालनमा ल्याएको फुड बैंक हुनेले दिने र नहुनेले लिनेको राम्रो थलो बनेको छ । कोरोना माहामारीमा विहान बेलुकाको छाक टार्न समस्या भएकालाई लक्षित गरी संचालन भइरहेको फुडबैंकमा आफूसंग भएकाले खाद्यान्न दिने र नभएकाले खाद्यान्न लिने कार्य अहिले भइरहेको छ ।
जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख समेत रहेका फुडबैंक संचालक संस्था मदन भण्डारी फाउन्डेसन मकवानपुरका अध्यक्ष रघुनाथ खुलालका अनुसार अहिले दैनिक सय जनासम्मले खाद्यान्न लिन आइरहेका छन् । विहान बेलुकाको छाक टार्नै समस्या भएकालाई दुई छाक सम्मलाई पुग्ने दाल, चामल, नुन तेल सहयोग प्रदान गर्ने काम भइरहेको अध्यक्ष खुलालले बताए । अहिलेसम्म फुडबैंकबाट करिब पाँच सय जनाले आफूलाई छाक टार्नका लागि खाद्यान्न लिएको लोकखबरसंगको उनले बताए । ‘ जसको विहान बेलुकाको चुल्हो बल्न समस्या भएको छ । उनीहरुलाई जतिखेर आएपनि दुई छाक खाना सहयोग तत्काल गरिहाल्छौं । ’ खुलालले भने, ‘ यो माहामारीमा खानै नपाएर कोही भोकै बस्नु नपरोस् भनेर हामीले खाद्यान्न आदान प्रदानका कार्य गरेका हौं । ’
हेटौंडाको मेनरोडस्थित कपुर कम्प्लेक्समा संचालन गरिएको फुड बैंकलाई माहामारी कायम रहन्जेल निरन्तरता दिने सोच रहेको खुलालको भनाई छ । फुडबैंकमा संकलित खाद्यान्न विभिन्न स्थानीय तहको आइसोलेसनमा रहेका संक्रमित, आश्रमहरुमा आश्रित रहेकाहरुलाई पनि सहयोग गर्ने आफूहरुको योजना रहेको अध्यक्ष खुलालले बताए ।
खुलालले सहयोग गर्ने मनकारीलाई आफूसंग भएको खाद्यान्न सहयोग गरी माहामारीमा सहयोगी बन्न आग्रह पनि गरेका छन् । ‘ यो बेलामा आफूसंग भएको दिँदा अरु भोकै बस्नु पर्दैन । ’ उनले भने,‘ विशेषगरी हामीले दाल, चामल, नुन तेल सहयोग लिने दिने कार्य गरिरहेका छौं । यसबाहेक अन्य खानेकुरा सहयोग प्राप्त भएमा पनि स्वीकार गरेका छौं । ’ सहयोगीदातालाई आफैं उपस्थित भएर अथवा अन्य माध्यममार्फत भएपनि खाद्यान्न उपलब्ध गराउँन सकिने बताउँदै खुलालले नगद भने सहयोग संकलन नगरिएको बताए ।
फुडबैंकमा खाद्यान्न संकलन तथा वितरण कार्यका लागि विभिन्न स्वयम् सेवीहरु लागिपरेका छन् । मदन भन्डारी स्पोटर्स एकेडेमी लगायतबाट स्वयम्सेवक खटिनुका साथै पाँच सदस्यीय उपसमितीका सदस्यहरु विहान देखि बेलुकासम्म फुडबैंक व्यवस्थापनमा लागिपरेका छन् ।
हुनेले सहयोग गर्ने र नहुनेले सहयोग दिने प्रभावकारी कार्य भएको भन्दै प्रतिकृया आइरहेकोमा आफूहरुलाई खुशी लागेको बताउँदै खुलालले राज्यले यस्तो कार्य गर्नुपर्ने धारणा राखे । यस्ता सहयोगी अभियान सरकारी संयन्त्रबाट संचालन हुनु अझ राम्रो हुने बताए । .