नेकपा स्थायी कमिटी बैठक सुरू
मकवानपुर । असार १८ गतेदेखि अवरूद्ध रहँदै आएको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठक भर्खरैबाट सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको स्थायी कमिटी बैठकमा कार्यदलले तयार पारेको प्रतिवेदन प्रस्तावको रूपमा पेस हुनेछ ।
पार्टी महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले तयार पारेको सुझाव प्रतिवेदनलाई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले हेरफेर गरेर प्रस्तावको रूप दिएका छन् । सबै स्थायी कमिटी सदस्यहरूलाई इमेलमार्फत् उपलब्ध गराइसकिएको प्रस्ताव पारित गरेपछि स्थायी कमिटी बैठक आजै टुङ्ग्याउने सम्भावना रहेको स्रोतले जानकारी दियो ।
“आज बैठकमा धेरै कार्यसूची छैनन् । अध्यक्षद्वयले पेस गरेको प्रस्तावमाथि छलफल हुनेछ । अरू विषय उठ्यो भने बैठक लम्बिनसक्छ । अन्यथा आजै टुङ्गिन्छ,” स्रोतले भन्यो ।
असार १० गतेबाट सुरु भएको स्थायी कमिटी बैठक असार १४ गतेको प्रधानमन्त्री ओलीको अभिव्यक्तिपछि मोडिन पुगेको थियो । विवाद उत्कर्षमा पुगेपछि असार १८ गतेपछि स्थगित रहँदै आएको थियो । साउन १३ गते बहुमत (३१जना) स्थायी कमिटी सदस्य बालुवाटारमै भेला भए पनि पार्टी अध्यक्ष प्रचण्डले त्यसलाई जारी बैठकको निरन्तरता नमान्ने बताएका थिए ।
असार १० गतेबाट सुरु भएको बैठकमा १२, १३ गते कार्यसूचीमाथि छलफल भएको थियो । १६ गतेको बैठक प्रधानमन्त्रीको असार १४ गतेको अभिव्यक्तिमाथि केन्द्रित भएको थियो भने १८ गतेको बैठक प्रधानमन्त्री ओलीले संसद् अधिवेशन हठात् अन्त्य गरिदिएपछि अन्यौलमा टुङ्गिएको थियो ।बाह्रखरी डटकमबाट