बिरामीमा समस्या देखिएपछि रोकिएको अक्सफोर्डको खोप ट्रायल पुनः गरिँदै

लोकखबर
२८ भाद्र २०७७, आईतवार ११:१६

मकवानपुर । कम्पनी एस्ट्राजेनेकाले अक्सफोर्ड युनिभर्सिटीसँग मिलेर गरिरहेको कोरोना खोपको ट्रायल मंगलबार एक बिरामीमा समस्या देखिएपछि अन्तर्राष्ट्रिय रुपमा रोक्न लगाइएको थियो । तर बिरामी परेका सहभागीमा खोपकै कारण साइड इफेक्ट देखिएको हो या होइन भन्‍नेसम्बन्धी स्वतन्त्र अनुसन्धानपछि खोप सुरक्षित भएको पुष्टि भएकाले शनिबारदेखि परीक्षण पुनः जारी गरिने भएको छ ।

बेलायतका स्वास्थ्य सचिवले यो खबरप्रति खुसी व्यक्त गर्दै भनेका छन्, “परीक्षण रोकिनुले के देखाउँछ भने हामीले सुरक्षालाई पहिलो प्राथमिकतामा राखेका छौं । र हामी प्रभावकारी अनि सुरक्षित खोप सकेसम्म चाँडै उपलब्ध गराउन वैज्ञानिकहरूलाई पूर्ण समर्थन गरिरहेका छौँ ।”

अक्सफोर्ड युनिभर्सिटीका अनुसार यो ठूलो ट्रायल भएकाले केही सहभागी बिरामी पर्न सक्ने पहिले नै अनुमान गरिएको थियो । तर स्वतन्त्र सुरक्षा समीक्षा समिति, बेलायतका नियामक, मेडिसिन तथा स्वास्थ्यसेवा उत्पादन निरीक्षण एजेन्सीलगायतले गरेको स्वतन्त्र अनुसन्धानपछि ट्रायल पुनः जारी राख्‍न सकिने निष्कर्ष निकालिएको हो ।

गोपनीयतासम्बन्धी कारणले बिरामी परेका सहभागीमा के समस्या देखिएको भन्ने स्पष्ट खुलाउन नसकिएको कम्पनीले यसअघि बताएको थियो तर न्युयोर्क टाइम्सले गरेको रिपोर्टमा भने बेलायतबाट सहभागी भएका ती स्वयंसेवकमा ‘ट्रान्सभर्स माएलिटिस’ नामक इन्फ्लामेटरी सिन्ड्रोम देखिएको खबर गरिएको छ । यस किसिमको भाइरल संक्रमणले मेरुदण्डमा असर पुर्‍याउने गर्छ ।

डब्लूएचओको डाटाअनुसार विश्वभरबाट खोप निर्माण गर्ने १८० उमेदवार कम्पनीहरू छन् तर कुनैले पनि वैज्ञानिक ट्रायल पूरा गरिसकेका छैनन् । यसबीच पहिलो र दोस्रो चरणको परीक्षण सफल भएको हुँदा एस्ट्राजेनेकाको खोप बजारमा उपलब्ध हुने पहिलो खोप बन्ने उच्च अपेक्षा छ । यसले केही साताअघि मात्र तेस्रो चरणको ट्रायल सुरु गरेको हो जसमा अमेरिका, बेलायत, ब्राजिल र दक्षिण अफ्रिकाका ३० हजारले सहभागी जनाइरहेका छन् ।बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*