कोरोना संक्रमणबाट यो साता विदेशमा ४३ नेपालीको मृत्यु, साउदीमा ६० शव अलपत्र

लोकखबर
२८ भाद्र २०७७, आईतवार १४:४४

मकवानपुर ।विश्वव्यापी महामारी कोरोना भाइरस ९कोभिड १९० संक्रमणबाट विदेशमा यो साता मात्र थप ४३ नेपालीको मृत्यु भएको छ । गत मार्चयता साउदी अरबमा मात्रै ४१ जनाको मृत्यु भएको त्यहाँस्थित राजदूतावासलाई उद्धृत गर्दै गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिले जनाएको छ ।

योसँगै साउदी अरबमा मात्रै कोरोना संक्रमणका कारण निधन हुने नेपालीको संख्या ५२ पुगेको साउदी अरबका लागि नेपाली राजदूत महेन्द्रसिंह राजपुतले जानकारी दिएको समितिले जनाएको छ ।

यसका साथै यो साता कतारमा पनि थप दुई नेपालीको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । योसँगै शनिबार साँझसम्म विदेशका विभिन्‍न १६ मुलुकमा संक्रमणका कारण मृत्यु भएका नेपालीको संख्या २४३ पुगेको स्वास्थ्य समितिका संयोजक सन्जीव सापकोटाले बताए ।

उनका अनुसार यो साता स्पेन, पोल्यान्ड, भारत, कतार, र साउदी अरब लगायत मुलुकमा कोरोना संक्रमणदर सामान्य रुपमा वृद्धि भएको छ । समितिका अनुसार हालसम्म विश्वका ४० देशमा रहेका नेपाली कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

कोरोना भाइरसका कारण हालसम्म बेलायत, यूएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्यान्ड, जापान, टर्की, नेदरल्यान्ड, स्वीडेन, भारत, दक्षिण अफ्रिकालगायत १६ देशमा रहेका नेपालीहरुले ज्यान गुमाएका छन् ।

कोरोना संक्रमणका कारण नेपालसहित विश्वभर जम्मा ५७९ नेपालीको मृत्यु भएको स्वास्थ्य समितिले विज्ञप्तिमार्फत जनाएको छ । यस्तै विश्वभर ९० हजार ७ सय ६७ नेपालीमा संक्रमण देखिएको छ भने तीमध्ये ७१ हजार ७ सय १७ जना कोरोना मुक्त भएका छन् । नेपालसहित कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या औसत ७८.७ प्रतिशत छ ।

६१ हजार ७ सय १० जनाको उद्धार
कोरोना भाइरसको संक्रमणपछि भएको विश्वव्यापी लकडाउनका कारण विदेशमा अलपत्र परेका, आफन्तकोमा गएर उतै रोकिएका र अन्य विविध कारण स्वदेश फर्कन नपाएका नेपालीको उद्धार कार्य जारी छ । हालसम्म गैरआवासीय नेपाली संघ, नेपाल सरकारका विदेशस्थित दूतावास तथा नियोगहरुको संयुक्त पहलमा ३० देशमा रहेका ६१ हजार ७ सय १० जना नेपालीको उद्धार गरिएको छ ।

साउदीमा ६० शव अलपत्र
साउदीस्थित नेपाली राजदूतावासका अनुसार साउदी अरबमा कोरोनालगायत अन्य विभिन्‍न कारणले निधन भएका ६० जना नेपालीको शव नेपाल ल्याउन बाँकी छ । साउदी अरबका लागि नेपाली राजदूत राजपुतका अनुसार ती शव नेपाल पठाउने प्रक्रियामा छन् ।

हालसम्म विदेशमा विभिन्‍न कारणले निधन भएका तीन सयजना नेपालीको शव नेपाल ल्याइएको छ । बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *