प्रहरीमा भौतिक संरचना निर्माण : २ वर्षमा ७५५ शौचालय, ६० ब्यारेक र ५० हिरासत कक्ष

मकवानपुर । स्थानीय तहसम्मका प्रहरी एकाइहरुका भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकता दिने नीतिअनुसार नेपाल प्रहरीले पछिल्लो दुई वर्षमा ११ सय ७७ वटा नयाँ संरचना निर्माण गरेको छ ।
प्रहरीको नियमित बजेट, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कोष र प्रादेशिक बजेटबाट प्रहरीको कार्यालय भवन, मेस, हिरासत कक्ष, ब्यारेक भवन, भान्सालगायत संरचना निर्माण गरिएका हुन् ।
पछिल्लो दुई आर्थिक वर्षमा ५५ वटा कार्यालय भवन, ६० वटा ब्यारेक, ५० वटा हिरासत कक्ष, ७१ वटा मेस, ७५५ वटा शौचालयसमेत अन्य संरचना निर्माण भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
नेपाल प्रहरीअन्तर्गतका हाल देशभर २७ सय ५७ एकाइ छन् । एक स्थानीय तहमा कम्तीमा एक प्रहरी एकाइ स्थापना गर्ने सरकारको लक्ष्यअनुरुप ०७५ सालयता चौकीदेखि प्रदेश प्रहरी कार्यालयसम्म कुल २५१ नयाँ एकाइ र सोअनुरुप दरबन्दीसमेत निकासा भइसकेको छ ।
चालु आर्थिक वर्षमा प्रहरीको नियमित बजेटबाट ३९ नयाँ कार्यालय भवन, ९२ ब्यारेक, ४५ वटा भान्सा, २० वटा हिरासत कक्ष र ८८० वटा शौचालयसमेत अन्य संरचना गरी ११ सय ४ वटा संरचना निर्माणाधीन छन् । यस्तै पुनर्निर्माण कोषबाट ४८ र प्रादेशिक बजेटबाट ८१० नयाँ पूर्वाधार निर्माणाधीन अवस्थामा छन् भने प्रादेशिक बजेटबाट चालु आवमा ३० वटा संरचना निर्माण सम्पन्न भइसकेका छन् ।
आर्थिक वर्ष ०७४र७५ मा समेत कार्यालय, ब्यारेक भवन, मेस, शौचालयलगायत अन्य भवन गरी ९४ वटा प्रहरीको नियमित बजेटबाट र पुनर्निर्माण कोषको बजेटबाट ३४६ वटा नयाँ संरचना निर्माण गरिएका थिए ।
प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो समय निर्माण गरिएका भवनहरु आधुनिक, अपाङ्ग एवं लैंगिकमैत्री समेत छन् ।
प्रहरीका प्रवक्ता एसएसपी कुवेर कडायत भन्छन्, “कार्यालय समेतको पूर्वाधार बनाउन विशेष ध्यान दिइएको छ । आवश्यकताअनुसार संरचना निर्माण र मर्मतसम्भार गर्न प्रहरी प्रधान कार्यालय संवदेनशील छ ।’’
उनका अनुसार कार्यालय होस् या हिरासत कक्ष अहिले बालबालिका, महिला, ज्येष्ठ नागरिकको संवेदनशीलता र अन्य विभिन्न कारणले पनि थप छुट्टै संरचना बनाउनुपर्ने आवश्यकता छ ।बाह्रखरी डटकमबाट