कोभिडविरुद्ध लड्न भारतले नेपाललाई दियो २ हजार भाइल रेमडेसिभिर

लोकखबर
३० भाद्र २०७७, मंगलवार १५:४६

मकवानपुर ।कोभिड-१९ विरुद्ध लड्न भारतले नेपाल सरकारलाई २ हजार भाइल रेमडेसिभिर प्रदान गरेको छ ।

भारत सरकारको तर्फबाट भारतीय राजदूत विनय मोहन क्वात्राले नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई दुई हजार भाइल रेमडेसिभिर औषधी उपहारस्वरुप प्रदान गरेका हुन् ।

कोभिड–१९ को विश्वव्यापी महामारीले निम्त्याएको चुनौती सामना गर्न भारत सरकारले नेपाललाई गरिरहेको सहयोग अनुरुप औषधी हस्तान्तरण गरिएको भारतीय दूतावासले जनाएको छ ।

यसअघि वैशाख १० गते प्यारासिटामोल, हाइड्रोक्लोरोक्विन लगायतका अत्यावश्यक औषधी, जेष्ठ ४ गते कोभिड–१९ टेष्ट कीट (आरटी–पीसीआर) र साउन २५ गते आइसीयू भेन्टिलेटर जस्ता स्वास्थ्य सामग्री भारतले नेपाललाई सहयोग स्वरुप प्रदान गरिसकेको छ ।

निकटतम मित्र तथा छिमेकीको हैसियतले यस महामारी विरुद्धको लडाईमा भारत नेपाल सरकार र नेपालीको साथमा रहेको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

अक्सिजन थेरापीमा रहेका मध्यमदेखि गम्भीर प्रकृतिका बिरामीहरुको उपचारमा प्रयोग गरिने रेमडेसिभिर एक प्रभावकारी औषधी हो । चिकित्सा अध्ययनका अनुसार यो औषधीको प्रयोगले बिरामीहरुको अस्पताल बसाई अवधि र रोगबाट निको हुने समयलाई कम गर्न उल्लेखनीय रुपमा सघाउ पुर्याउँछ ।खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*