सानोपोखराबाट दिइयो ४ सय ९१ परिवारलाई खाद्यान्न
मकवानपुर । मकवानपुरको हेटौंडा ५, सानोपोखरामा संचालन गरिएको खाद्यान्न आदान प्रदान कार्यक्रममार्फत ४ सय ९१ परिवारलाई खाद्यान्न वितरण गरिएको छ ।
खेलकुद तथा सामाजिक विकास मन्डल सानोपोखरा क्लवले संचालन गरेको खाद्यान्न आदान प्रदान कार्यक्रम फुड बैंकमार्फत हिजोसम्म ४ सय ५१ जनालाई सहयोग गरिएकोमा आज विहान थप ५० जनालाई खाद्यान्न वितरण गरिएको हो ।
आज हेटौंडा उपमहानगरपालिका कार्यालयमा कार्यरत, हेटौंडा ५, सानोपोखरा निवासी विनोद सुवेदीले ५० जना परिवारलाई दाल, चामल, नुन तथा तेल खाद्यान्न सहयोग गरेका छन् । आफ्नी आमा सीतादेवी सुवेदीको निधन भएको तेह्रौं दिनको पुण्य तिथी पारेर फुडबैंकलाई सुवेदीले खाद्यान्न सहयोग सहयोग गरेका हुन् ।
कोरोना भाइरस (कोभिड १९) को जोखिमबाट बच्नका लागि सरकारले गरेको लक डाउन तथा निषेधाज्ञाका कारण निम्व वर्गीय परिवारलाई विहान बेलुकको छाक टार्नै समस्या भएको अवस्थालाई ध्यान दिदैं आफूहरुले खाद्यान्न आदान प्रदान अर्थात् फुड बैंक कार्यक्रम संचालन गरेको आयोजक क्लवका सल्लाहकार एवं फुडबैंकका कार्यक्रम संयोजक विशालराज महतले जानकारी दिए ।
संयोजक महतका अनुसार अब सरकारले लक डाउन खुकुलो बनाएकाले निम्न वर्गीय परिवार, श्रमिक काममा लाग्ने अवस्था बन्दै गएकाले भोलिबाट फुड बैंकमार्फत खाद्यान्न वितरण कार्य स्थगित हुने बताए । तर, कोरोना कहरका कारण विहान बेलुकाको छाक टार्नै समस्या झेल्न बाध्य हेटौंडा ५ मा बासोबास गर्नेलाई भने अब घरमै पुगेर खाद्यान्न सहयोग गर्ने महतले जानकारी दिए । उनका अनुसार अब वडामा रहेका २८ वटा टोल विकास संस्थामार्फत वास्तविक निम्न वर्गीय श्रमिक पहिचान गरी उनीहरुको घरमै पुगेर अवस्था विश्लेषण गरी खाद्यान्न सहयोग गरिनेछ ।
आफूहरु अबका दिनमा वडामा रहेका अशक्त, अपांगता भएका, निम्न वर्गीय, श्रममा आश्रित परिवारको घरमै पुगेर आवश्यक परेमा खाद्यान्न वितरण गर्ने सोचमा रहेको महतले बताए ।