कांग्रेस महामन्त्री शशांक कोइराला अस्पताल भर्ना
मकवानपुर ।कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलसनमा बसेका कांग्रेस महामन्त्री डा.शशांक कोइराला अस्पताल भर्ना भएका छन् । निमोनियाको शंका लागेपछि मंगलबार साँझ ८ बजे चाबहिलस्थित ओम् अस्पताल भर्ना भएको कोइरालाका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए ।
कोइरालालाई माइल्ड खालको निमोनिया र ज्वरो देखिएको अस्पतालका प्रवक्ता विनोद अधिकारीले कान्तिपुरलाई बताए । ‘उहाँमा हल्का ज्वरो र रुघाखोकी देखिएको छ । स्वास्थ्य अवस्था सामान्य छ । उहाँलाई प्यारासिटामोल दिएर आईसीयूभित्रको आइसोलेसनमा चिकित्सकीय निगरानीमा राखिएको छ,’ प्रवक्ता अधिकारीले भने ।
कांग्रेस महामन्त्री कोइरालालाई गत भदौ २३ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा पीसीआर परीक्षण गराउँदा उनमा कोरोना पुष्टि भएको थियो । इ-कान्तिपुर डटकमबाट