बाढीले सडक बगाएपछि बेनी–जोमसोममा फेरि यातायात ठप्प

लोकखबर
३१ भाद्र २०७७, बुधबार १२:१७

मकवानपुर । अन्नपूर्ण गाउँपालिका–३ दानाको अन्ध गल्छीस्थित रुप्से झरनामा आएको बाढीले सडक बगाएपछि बेनी–जोमसोम खण्डमा फेरि यातायात अवरुद्ध भएको छ । मुस्ताङबाट आलु–स्याउ बोकेर झरेका र बेनी हुँदै खाद्यान्न बोकेर उक्लँदै गरेका गाडी बाटैमा रोकिएका छन् । सडक बगेपछि त्यहाँबाट पैदलयात्रा गर्नसमेत नमिल्ने भएको छ ।

रुप्से झरनामा लेदोसहितको बाढी आएपछि फेदीको सडक कटानमा परेको हो । मंगलबार बिहानैदेखि रुप्सेमा पानीको सतह बढेपछि यातायात अवरुद्ध भएकामा सडक नै बगेपछि बुधबारदेखि पूरै ठप्प भएको हो । बाढीले दुवैतर्फको पूरै भित्तो बगाएकाले तत्काल नयाँ ट्र्याक खोल्नसमेत समस्या देखिएको छ ।

साउन २६ गतेको बाढीले एक महिनासम्म अवरुद्ध सडक रुप्से झरनामा नयाँ ट्र्याक खोलेर भदौ १ देखि यातायात सञ्चालन गरिएको थियो ।

‘मंगलबार रुप्सेमा पानीको सतह केही घटेसँगै पानी फिँजाई नयाँ ट्र्याक खोलेर सवारी पास गराउने प्रयास असफल भयो । राति बाढी उर्लेर वारिपारिको भित्तासमेत बगाएपछि तत्काल सडक खुल्ने सम्भावना नै छैन,’ सडकका स्थानीय सुपरभाइजर इन्द्रसिं शेरचनले भने, ‘रुप्सेमा पानीको सतह नघटी ट्र्याक खोल्न सकिँदैन ।’

त्यस्तै सदरमुकाम बेनीदेखि ११ किमी उत्तर रघुगंगा गाउँपालिका–१ बेगखोलामा बाढी आउँदा यातायात ठप्प भएको छ । त्यहाँ अहिले ‘स्ट्यान्ड बाई’ राखिएको डोजरले बोकेर यात्रु वारपार गराउने गरेको छ ।

इ-कान्तिपुर डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*