साउदीमा रहेका १ हजार १ नेपालीले पाए बहिर्गमन भिसा
मकवानपुर । साउदीमा रहेका १ हजार १ नेपालीले बहिर्गमन भिसा पाएका छन् ।
साउदीमा रहेको नेपाली दूतावासमा निवेदन दिएकामध्ये केहीले बहिर्गमन भिसा प्राप्त गरेका हुन् । यसअघि साउदी अरेबियाले ९४८ जनालाई बहिर्गमन भिसा दिएको थियो । बिहीबार एक विज्ञप्ति जारी गर्दै थप ५३ जनाले बहिर्गमन भिसा पाएको दूतावासले जनाएको छ । उनीहरू भिसा लागेकाहरू भिसा लागेको मितिले ६० दिनभित्र आफ्नै खर्चमा स्वदेश फर्किसक्नुपर्नेछ ।
साउदी अरेबियाका विभिन्न कम्पनी, प्रतिष्ठानहरुमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र नबनाइएका वा नवीकरण नगरिएका कारण स्वदेश फर्कन चाहेका नेपालीलाई बहिर्गमन भिसा प्रदान गरिएको दूतावासले विज्ञप्तिमार्फत जनाएको छ ।
साथै, विभिन्न व्यक्तिले झुटा विवरण दिई दूतावाससमक्ष बहिर्गमन भिसाका लागि आवेदन दिएकालाई कुनै समस्या आइपरे स्वयं जिम्मेवार हुनुपर्ने पनि दूतावासले प्रस्टयाएको छ ।
बहिर्गमन भिसा जारी भएकाहरुले आगामी दिनमा नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले रियाद र दमामबाट गर्ने उडानहरुबाट स्वदेश फर्कने तयारी गर्न दूतावासले आग्रह गरेको छ । बाह्रखरी डटकमबाट