किन रोकियो नेकपाको सचिवालय बैठक ?

मकवानपुर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आज (शुक्रबार)लाई तय भएको सचिवालय बैठक आइतबार बिहानलाई तय भएको छ ।
बिहान ११ बजे पार्टीको जनसंगठनहरूको कार्यालय रहेको स्थान पेरिसडाँडामा सचिवालय बस्ने यसअघि तय भएको थियो ।
आजको बैठक स्थगित भएको र आइतबार बिहान ११ बजे पेरिसडाँडामै बस्नेगरी तय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।
“हाम्रो पार्टीको आज बस्ने भनिएको केन्द्रीय सचिवालयको बैठक आज स्थगित भई पर्सि असोज ४ गते बिहान ११ बजे परिसडाँडामा बस्ने तय भएको छ,” उनले ट्विटरमार्फत् जानकारी गराएका छन् ।
स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि पार्टीमा छलफल नगराइ नियुक्तिलगायतका काम गर्न थालेको भन्दै पार्टीमा पुनः असन्तुष्टि बढ्न थालेको छ । सोमबार भर्खरै अर्थमन्त्रीबाट बहिर्गमित भएका डा. युवराज खतिवडालाई प्रमुख आर्थिक सल्लाहकार नियुक्त गर्दै मन्त्री सरहको सुविधा दिएपछि सचिवालयका केही नेता क्षुब्ध बनेका छन् ।
“यो पुरानै शैलीको निरन्तरता हो । सरकार पार्टीको निर्देशनमा चल्ने भनिएको छ । पार्टीले नियुक्तिपछि मात्रै थाहा पाउने अवस्था बनेको छ,” ती नेता भन्छन् ।
पार्टीका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्रीलगायत मन्त्रीको जिम्मेवारीमा रहेका सचिवालय सदस्यहरू संविधान दिवसको तयारीमा केन्द्रित हुनुपर्ने भएकाले बैठक रोकिएको जानकारी दिए । “संविधान दिवसको तयारीलाई कारण देखाइएको छ । अरू त रोक्नेलाई नै थाहा होला,” उनी भन्छन् ।बाह्रखरी डटकमबाट