प्रदेशले गरेका काम र कमजोरी जनतालाई चाँडै देखाउँछौं : मुख्यमन्त्री राई

लोकखबर
४ आश्विन २०७७, आईतवार १२:४८

मकवानपुर ।प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकार गठन भएपछि गरेका काम र भएका कमजोरीहरू जनतालाई जानकारी गराउने बताएका छन ।

प्रदेश योजना आयोगले तयार गरेको प्रदेशको पाश्र्वचित्र सार्वजनिक गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आइतबार आयोजना गरिएको कार्यक्रममा मुख्यमन्त्री शेरधन राईले भने, “कतिपय मानिसहरू संघीय र स्थानय सरकार भएपछि किन प्रदेश सरकार चाहियो भनेर प्रश्न गर्ने गर्छन् खासमा संघीयता नरुचाउनेले यस्ता प्रश्न उठाउने गरेका हुन ।” मुख्यमन्त्री राईले प्रदेश सरकारबाट समग्र समीक्षा मूल्यांकनसहितको एउटा डकुमेन्ट छिट्टै सार्वजनिक गरिने जानकारी गराए ।

“प्रदेश सरकार बनेयता के-के सफलता हासिल भए ? एकपटक आफूले आफूलाई मूल्यांकन गर्ने, के कमजोरी रहे र के उपलब्धि हासिल भए भन्ने प्रस्ट गर्नेछौं,” उनले भने, “बाँकी अवधि कसरी अगाडि बढ्ने भन्ने पनि जनतालाई बुझाउने तयारी सरकारको छ ।”

प्रदेश सरकार नयाँ संरचना भएको बताउँदै मुख्यमन्त्री राईले स्थानीय तह भएपछि प्रदेश सरकारको आवश्यकता छैन भन्‍नेहरूमध्ये एउटा मानसिकताबाट आएको, अर्को संघीयताको मर्म थाहा नपाएकाहरूले यस किसिमको टिप्पणी गरेको, बुझेर बुझ पचाउनेले पनि भन्ने गरेको र संघीयतालाई कमजोर बनाउन चाहनेले पनि यस्तो अर्नगल प्रचार गर्ने गरेको बताए ।

मुख्यमन्त्री राईले भने, “देशमा शान्ति नचाहनेले पनि भन्‍ने गर्छन् । साँचो रुपमा संघीयतालाई बुझ्‍ने हो भने संघीयता नै यही हो । धेरै शासन प्रणाली भोगियो । विगतमा केन्द्रीय र स्थानीय शासन प्रणाली भोगेको हो अब भौगोलिक अवस्था, विशेषता र अवस्थालाई हेरेर हामी संघीयतामा गएका हौं । तीन संचरनाको परिकल्पना सोहीअनुरुप भएको हो ।”

प्रदेश सरकार अब निकै अगाडि बढ्ने भन्दै उनले सही बाटोमा प्रदेश सरकार अगाडि बढिरहेको पनि बताए । सरकार बन्दै गरेको अवस्था र आजको कुन अवस्थामा फरकपन देखिएको भन्दै मुख्यमन्त्री राईले अब ५ वर्षमा कहाँ पुगिने छ भनेर तथ्यांकहरूले प्रस्ट बोलेको बताए ।

पूर्वाञ्चल विश्वविद्यालयका प्राध्यापक तथा विज्ञहरूको सहयोगमा प्रदेश पाश्र्वचित्र तयार गरिएको प्रदेश योजना आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेलले बताए । बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*