यस्तो देखियो भाइरल बनेको बाहुबली झरना !

लोकखबर
५ आश्विन २०७७, सोमबार ११:१८

मकवानपुर । संघीय राजधानी काठमाडौंबाट करिब ६५ किलोमिटर टाढामा पर्छ बाहुबली झरना । काभ्रेको सदरमुकाम धुलिखेलबाट ३० किलोमिटर दक्षिणमा रहेको बाहुबली झरनामा यतिबेला आन्तरिक पर्यटकको भिड लागेको छ ।

काभ्रेको रोशी गाउँपालिका २, काफलडाँडामा रहेको तीनधारे (बाहुबली) झरना यतिबेला आन्तरिक पर्यटकका लागि पुग्‍नैपर्ने गन्तव्य बनेको छ । कोभिड-१९ का कारण विश्वका प्रायः सबै मुलुकमा लकडाउन हुँदा नेपालमा पनि लकडाउन भएको थियो । लकडाउनकै बीच केही युवाले घुम्‍न गएका बेला तीनधारे झरनाको भिडियो ड्रोन क्यामेराबाट कैद गरी सामाजिक सन्जालमा राखेपछि यो एकाएक भाइरल यहाँका बासिन्दा बताउँछन् ।

केही वर्षअघि आएको दक्षिण भारतीय चलचित्र बाहुबलीको पहिलो भागमा देखाइएको जस्तो हुबहु मेल खाने भएकाले अहिले तीनधारे झरना आफ्नो नामभन्दा पनि बाहुबली झरनाका नामबाट प्रसिद्ध हुँदै गएको छ । काठमाडौंबाट तीनधारे अर्थात् बाहुबली झरनासम्म पुग्‍न करिब ६५ किलोमिटरको बाटो छिचोल्नुपर्छ । साना सवारीसाधन मात्रै झरनासम्म जाने हुँदा ६५ किलोमिटरमध्ये केही किलोमिटर बाटो निकै खराब छ । त्यसमा पनि हिलाम्मे बाटोमा सास्ती खेप्दै झरना स्थल पुग्दा सबैको मन भने लट्ठ बनाउँछ ।

फेसबुकमा झरनाको दृश्य देखेर झरनास्थल पुगेका काभ्रेको पनौती घर भएका मेची-महाकाली धावक तथा साहित्यकार लक्ष्मण सापकोटाले ‘झरनाको रुपले आफूलाई मोहित’ बनाएको बताएका छन् । ‘‘यो ठाउँसम्म आउन पर्यटकका लागि राम्रो र व्यवस्थित बाटो बनाउने हो भने भोलिका दिन यहाँको विकाससँगै स्थानीयको आय स्रोत बढ्नेमा कुनै शंका छैन,’’ उनले भने ।

 

सापकोटाका अनुसार देशभर यस्ता ओझेलमा परेका प्राकृतिक ठाउँ थुप्रै छन् । ती ठाउँहरुको पहिचान र विकास नहुनुमा सरोकारवाला निकायको उदासीन मान्‍न सकिन्छ ।

कोरोना महामारीका कारण सरकारले जारी गरेको लामो समयको लकडाउनले गर्दा धेरै ठाउँका मानिसमा दुस्ख थप्यो भने रोशी गाउँपालिका २ का बासिन्दाका लागि खुसी थपिएको छ । २० वर्षपछि यो झरनाले आफ्नो छहरालाई अझै फराकिलो बनाएपछि एकाएक देशभर लोकप्रिय हुँदा शुक्रबार र शनिबारबाहेक दैनिक दुई हजार मानिस यहाँ पुग्छन् । झरना चर्चामा आएपछि काफलडाँडाका बासिन्दाको जीवनमा समेत सकारात्मक परिवर्तन आउन थालेको छ ।

झरना हेर्न शुक्रबार र शनिबार मानिसको अत्यधिक ओइरो लाग्‍ने गरेको स्थानीय एवं झरनाको सफाइ खटिएका भक्तबहादुर राणाले बाह्रखरीलाई बताए । राणाका अनुसार शुक्रबार र शनिबार मात्रै १० देखि १२ हजारको संख्यामा मान्छे आउने गरेको बताए ।

सामाजिक सन्जालहरुमा झरनाको फोटो भिडियो देखेर मोहित भएर झरना हेर्न आउनेको संख्या दिनहुँ बढिरहेको छ । त्यसैले त्यो ठाउँको विकास गर्नु छ भने, स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रिय सरकारले मिलेर यो तीनधारे झरनाको विकास एवं प्रवर्द्धन गर्न जरुरी देखिन्छ ।बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*