ओली–प्रचण्ड भेट : मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी

लोकखबर
५ आश्विन २०७७, सोमबार १५:४९

मकवानपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका छन् । मङ्गलबारको सचिवालय बैठकपछि नै मन्त्रिपरिषद् हेरफेर गर्ने गरी प्रधानमन्त्री ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको स्रोतको दाबी छ ।

प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच सोमबार बालुवाटारमा छलफल भएको थियो । उनीहरू सचिवालय बैठकले मापदण्ड बनाएर मन्त्रिपरिषद् पुनर्गठन सहमति भएको स्रोतको दाबी छ ।

“यसबारे भोलिको बैठकमा छलफल हुन्छ, त्यसपछि मात्रै पुनर्गठन होला,” स्रोतले भन्यो ।

बालुवाटार स्रोतले पनि सचिवालय बैठकले निर्णय गरेपछि मन्त्रिपरिषद् पुनर्गठन हुने जानकारी दियो । “सचिवालय बैठकको एजेन्डा नै छ । बैठक चल्दाचल्दै पुनर्गठन हुने भन्ने हुँदैन । बैठक सकिएपछि निर्णयका आधारमा हुने हो,” स्रोतले भन्यो ।

आइतबारको बैठकमा तीन विकल्पमाथि छलफल भएको थियो । पहिलो, सबै मन्त्रीहरू हटाउने । वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालको यसमा मत थियो । अध्यक्षद्वय ओली प्रचण्डले केही मन्त्री हटाउने, केही मन्त्री राख्नेगरी पुनर्गठन गर्न सकिने बताएका थिए । गृहमन्त्री रामबहादुर थापा बादल र रक्षामन्त्री ईश्वर पोखरेलले पहिला मापदण्ड बनाएर मात्रै छलफल गर्नुपर्ने धारणा राखेका थिए ।

बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*