सुनसरीमा थप ६८ जनामा कोरोना पुष्टि

मकवानपुर । सुनसरीमा मंगलबार दुई ट्राफिक प्रहरीसहित ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । इनरुवास्थित स्वास्थ्य कार्यालयकी जनस्वास्थ्य अधिकृत दीक्षा श्रेष्ठका अनुसार धरान उपमहानगर क्षेत्रमा ३३ जना, इटहरी उपमहानगर क्षेत्रमा १८ जना र दुहवी नगरपालिका क्षेत्रमा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
श्रेष्ठले पछिल्लो समयमा ग्रामिण क्षेत्रमाभन्दा मानिसको बढी चहलपहल र भीडभाड हुने सुनसरीको सहरी क्षेत्रमा संक्रमितको संख्यामा वृद्धि भएको बताइन् । संक्रमितमध्ये कतिपयलाई होम आइसोलेसनमा र अधिकांशलाई मोरङको गोठगाउँ, इटहरीको रंगशाला र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा पठाउने तयारी भइरहेको छ ।
धरान उपमहानगरपालिकामा स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताका अनुसार संक्रमितमध्ये धरान ८–स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयमा कार्यरत ४५ वर्षीय र २७ वर्षीय पुरुष ट्राफिक प्रहरी, बीपी प्रतिष्ठानका एक नर्स र एक चिकित्सकको आवासमा कार्यरत १८ वर्षीया एक युवतीलाई पनि संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमणबाट सुनसरीमा हालसम्म १० जनाको मृत्यु भइसकेको छ । स्वास्थ्य कार्यालयको अनुसार हालसम्म १ हजार ५ सय ३१ जना संक्रमित पुष्टि भएका छन् भने ८ सय ७७ जना कोरोनामुक्त भएर घर फर्किएका छन् ।इ-कान्तिपुर डटकमबाट