ओमानले १ अक्टोबरदेखि नेपालीसहित विदेशीलाई प्रवेश दिने
मकवानपुर ।ओमानले १ अक्टोबर (असोज १५) देखि नेपालीसहित विदेशी आप्रवासी कामदारलाई प्रवेश अनुमति दिने भएको छ ।
ओमानको कोभिड-१९ सम्बन्धी सर्वोच्च समितिको २२ सेप्टेम्बरको निर्णय अनुसार आगामी १ अक्टोबर बाट लागु हुने गरी नेपाल लगायत विदेशबाट ओमान फर्किन सक्ने ओमानस्थित नेपाली दूतावासले जनाएको छ ।
दूतावासका अनुसार ओमान फर्किन चाहने कामदारहरुले साबिकमा लिनुपर्ने परराष्ट्र मन्त्रालयबाट जारी हुने एप्रुभल लेटर लिनु पर्ने छैन ।
६ महिना (१८० दिन) भन्दा बढी अवधि ओमान बाहिर रहनेहरूको हकमा कम्पनीले फर्किन अनुमति दिएको कागजात ‘नो अब्जेक्शन लेटर’ लिएर मात्र ओमान प्रवेश गर्न पाइने दूतावासले जनाएको छ ।
ओमान सरकारको यो निर्णयसँगै अब विभिन्न समयमा विदामा नेपाल गएका तथा कोरोनाका कारण प्रतिबन्ध लगाएपछि रोकिएर बसेका नेपाली कामदारहरु ओमान फर्किन पाउने भएका छन् ।
अहिले ओमानबाट भिसा सकिएका र विभिन्न कारणले रोजगारी गुमाएका नेपालीहरु चार्टर्ड उडानमार्फत स्वदेश फर्किरहेका छन् ।
यो समाचार तयार पर्दासम्म ओमानबाट १ हजार ४ नेपाली स्वदेश फर्किसकेको दूतावासले जनाएको छ । खबरहब डटकमबाट