ओली-प्रचण्डबीच बालुवाटारमा छलफल जारी, यी हुन् विषय!
मकवानपुर । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज पनि बालुवाटारमा वार्ता जारी छ ।
बिहान १० बजेदेखि जारी छलफलमा मन्त्रिपरिषद् हेरफेर, पार्टी एकताका बाँकी रहेका काम, संवैधानिक नियुक्तिलाई पूर्णता दिने विषयमा सघन वार्ता चलिरहेको स्रोतले जानकारी दियो ।
गत भदौ २६ गते सकिएको पाँचौं स्थायी कमिटी बैठकले मन्त्रिपरिषद् हेरफेर गर्न सैद्धान्तिक अनुमति दिएको थियो । असोज ४ गते पेरिसडाँडामा बसेको ६८औं सचिवालय बैठकमा नीतिगत छलफल पनि भएको थियो ।
अब मन्त्रिपरिषद् हेरफेरको समय नजिकिएको पार्टी संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिएका छन् ।
त्यस्तै अध्यक्षद्वय ओली, प्रचण्डले संवैधानिक नियुक्ति र एकताका बाँकी काम टुंग्यान गृहकार्य गरिरहेको स्रोतको दाबी छ । नेकपामा ३२ विभाग, ५ निकाय (अनुशासन, लेखा, निर्वाचन आयोग, ज्येष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार परिषद्), जनसंगठनहरू, प्रवास समन्वय र विशेष जिल्ला कमिटीले पूर्णता पाउन बाँकी छ ।
केही केन्द्रीय सदस्यको जिम्मेवारी पुनरावलोकनका लागि पनि स्थायी कमिटी बैठकले अनुमति दिइसकेको छ । संवैधानिक निकायमा रिक्त रहेका ४० पद शीघ्र पूर्ति गर्न पनि असोज ५ गते बालुवाटारमा सकिएको सचिवालय बैठकले प्रधानमन्त्री ओलीलाई अनुमति दिएको थियो ।बाह्रखरी डटकमबाट