ड्रग्स अनुसन्धान सीबीआईलाई दिनुपर्ने, एनसीबीसँग कुनै अधिकार नभएको रियाका वकिलको दाबी

मकवानपुर ।सुशान्तसिंह राजपूतको मृत्यु प्रकरणमा ड्रग्सको विषय आएपछि एनसीबीले यसको अनुसन्धान सुरु गरेको छ । यो मुद्दामा बम्बे उच्च अदालतले बिहीबार अभिनेत्री रिया चक्रवर्ती र उनका भाई सोविक चक्रवर्तीलाई अक्टोबर ६ सम्म न्यायिक हिरासतमा पठाएको हो ।
उच्च अदालतको निर्णयपछि रिया र सोविकका वकिलले बम्बे उच्च अदालतलाई यो मुद्दामा अनुसन्धान गर्न एनसीबीसँग कुनै अधिकार नभएको बताएका छन् । रियाका वकिल सतिश मानसिन्देले रिया र सोबिकविरुद्ध एनडीपीएस ऐनको धारा २७ ए लगाउन नहुने बताए । (यो धारा अवैध ड्रग्स कारोबारसँग सम्बन्धित छ जसमा दोषी ठहर हुनेलाई १० वर्षको जेल सजायको व्यवस्था छ ।)
यदि अनुसन्धानमा आरोपितसँग ड्रग्स भेटिएन तर आरोप लागेको छ भने त्यो अपराध जमानत हुने वकिल मानसिन्देको तर्क छ ।
“सर्वोच्च अदालतको निर्णयको आधारमा यो मुद्दा सीबीआईमा हस्तान्तरण गर्नुपर्नेछ र भविष्यका सबै मुद्दा पनि सीबीआईमा नै जानुपर्छ,” वकिल मानसिन्देले बम्बे उच्च अदालतलाई भनेका छन्, “ सन् १९८८ को गजटअन्तर्गत सीबीआईलाई एनडीपीएस ऐनअन्तर्गत लागुपदार्थको छानबिन गर्ने अधिकार छ । यसैले हालसम्म गरिएको अनुसन्धान अवैध छ ।”
उच्च अदालतले रियालगायत उनका भाई, सुशान्तका अपार्टमेन्ट म्यानेजर साम्युएल मिरान्डा र घरका कर्मचार दीपेश सावन्त र ड्रग्स गस्कर अब्बदुल परिहारको जमानत याचिकाको सुनुवाई २९ सेप्टेम्बरमा हुनेछ । एनसीबीले हालसम्म रिया र सोविकलगायत १६ जनालाई पक्राउ गरिसकेको छ । बाह्रखरी डटकमबाट