पहिरोको जोखिम बढाउँदै गाउँका विकासे सडके

लोकखबर
९ आश्विन २०७७, शुक्रबार १४:४८

मकवानपुर ।सकिनै लागेको मनसुन सोमबारदेखि देशभर सक्रिय भएपछि पहिरोको जाने क्रम बढेको छ । यस वर्षमात्रै बाढीपहिरोमा परी ३०९ जनाको ज्यान गुमेको छ । ठाउँठाउँमा सडक अवरुद्ध भए ।

विशेषगरी पहाडी ग्रामीण क्षेत्रमा सडक सञ्जाल विस्तार गर्ने होडबाजी पहिरो निम्त्याउने प्रमुख कारकतत्वका रूपमा देखापरेको छ । वैज्ञानिक अध्ययनविना पूर्वाधार निर्माणका उपकरणको गलत प्रयोगले पहिरोको जोखिम बढेको जानकारहरूको भनाइ छ ।

 

स्थानीय तहबाट निर्वाचित जनप्रतिनिधिहरूले अहिले गाउँगाउँमा विकासका नाममा बाटो खन्ने लहर चलिरहेको छ । बुधबार संसदीय समितिको बैठकमा संसादहरूले प्रश्न उठाएका थिए ।

प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिमा बोल्दै सिन्धुलीका सांसद गणेशकुमार पहाडीले भने, ‘मुलुकमा अहिले ८५ हजार किलोमिटर ग्रामीण सडक छ । एकाधभन्दा बाहेक कुनै पनि सडक वातावरणीय अध्ययन मूल्यांकन, योजना तथा लागतको लेखाजोखा गरेर खनिएको देखिँदैन । त्यस्ता सडक नै अहिले पहिरोको जोखिम निम्त्याउने प्रमुख कारक बनिरहेका छन् ।’

उपकरणको गलत प्रयोग स् पूर्वाधार विज्ञ

पूर्वाधार निर्माणका क्रममा उपकरणको गलत प्रयोगका कारण पनि ग्रामीण क्षेत्रमा वर्षा सुरु हुनासाथ पहिरो खस्ने गरेको पूर्वाधार विज्ञ किशोर थापा बताउँछन् ।

उनले भने, ‘पहाड तथा डाँडाहरू कमलो रहेकाले थोरै पानी पर्दा पनि पहाड खस्ने र माटो बग्ने गर्छ । सडकको विस्तार गर्नुअघि त्यहाँको भौगर्भिक र भौगोलिक अवस्था कस्तो छ भनेर अध्ययन गरेपछि मात्र निर्माण कार्य सुरु गर्नुपर्छ ।’ अध्ययन भएकै ठाउँमा पनि अध्ययनको निष्कर्ष अनुसार काम नभएको उनको भनाइ छ ।

पछिल्ला केही वर्षयता ग्रामीण सडकमा डोजर, स्काभेटर लगायतका उपकरणको बढी प्रयोग भइरहेको छ । थापा भन्छन्, ‘उपकरणको प्रयोग गरेर छिटो काम सक्न जथाभावी खन्ने काम गर्नुभएन । सडक बनाउँदा ब्लास्टिङ गर्ने चलन छ । ब्लाष्टिङ गर्दा सडकको चटान फुटाउन सकिन्छ तर पहाड नै थर्काउने गरी काम गनुहुँदैन ।’

पहिरो झरेको स्थानमा उद्धार तथा सडक सञ्चालनका लागि सोही ठाउँमा हतारिदै पहिरो पन्छाउनाले त्यस ठाउँमा पटकपटक पहिरो खस्ने सम्भावना हुने उनको भनाइ छ ।

‘सडक बनाएर मात्र हुँदैन, पहाडी क्षेत्रको भिरालो स्थानमा बनाइएको सडकभन्दा माथि र तलको अवस्था कस्तो छ भनेर बेलाबेलामा अनुगमन गरिरहनुपर्छ, सडक मुनि अर्को सडक खन्ने, घर बनाउने, खोल्साखोल्सीहरू साँघुरो बनाउने काम गर्नुहुँदैन’ उनले भने, ‘मुख्य कुरा, पानीको बहाव रोकिन्छ भने त्यहाँ हामीले ठूलो प्रकोप हामीले निम्त्याएका हुन्छौँ ।’

सवारी साधन पनि सडकको अवस्थाअनुसार चलाउनुपर्ने थापाको सुझाब छ । उनी भन्छन्, ‘सडकको अवस्था कमजोर छ तर अठार चक्के ट्रक चलिरहेको हुन्छ, कच्ची धेरै लोड भएको सडकमा चलाउन हुँदैन । सडकको अवस्थाअनुसार गाडी चल्ने व्यवस्था गर्नुपर्छ ।’

बाढीपहिरोमा ३०९ जनाको मृत्यु

राष्ट्रिय जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्कअनुसार यस वर्ष मनसुन सुरु भएयता देशका विभिन्न स्थानमा पहिरोमा २७३ जनाको मृत्यु भएको छ । अझै ६५ जना बेपत्ता छन् । बाढीले ३६ जनाको ज्यान लिएको छ भने ३९ जना बेपत्ता छन् ।

अविरल झरीसँगै आएको पहिरोमा परी बिहीबार स्याङ्जा, धनकुटा, पाल्पा, नवलपरासी, मकवानपुर, कपिलवस्तु, ललितपुर लगायतका स्थानमा १७ जानको ज्यान गएको छ । केही बेपत्ता छन् ।

चार दिनमा दर्जन सडक अवरुद्ध

चार दिनदेखि भारी वर्षा हुँदा देशभरका धेरै सडकहरू अवरुद्ध भएका छन् । कतिपय सडकहरू भासिएका छन् भने कतिपयमा पहिरो गएको छ ।

देशभर अहिले १३ वटा सडकखण्ड अवरुद्ध भएको र ९५ भन्दा बढी सडकखण्ड आंशिकरूपमा मात्रै सञ्चालन भएको सडक विभागले जनाएको छ । कान्ति लोकपथअन्तर्गत प्रताप डाँडा, छपेली, भालु खोला लगायतका सडक पहिरोका कारण अवरुद्ध छन् ।

त्यस्तै बुढीगङ्गा नदीको बहालवले साँफेबगर-मार्तडी सडकको अम्कोटद्वारी खण्ड अवरुद्ध भएको छ । साउन ४ गतेदेखि अवरुद्ध यस सडकखण्ड असोज २५ गतेपछि मात्र खुल्ने विभागले जनाएको छ ।

खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*