दक्षिण कोरियाली अधिकारी मारिएको घटनाप्रति किम जोङ उनले माफी मागे
मकवानपुर । उत्तर कोरियाली नेता किम जोङ उनले दक्षिण कोरियाली अधिकारी मारिएको घटनाप्रति माफी मागेका छन् ।
नेता किमले दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ-इनलाई पत्र पठाउँदै ‘नहुनुपर्ने घटना घटेको भन्दै माफी मागेको’ दक्षिण कोरियाली राष्ट्रपति कार्यालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
एक ४७ वर्षीय दक्षिण कोरियाली अधिकारीलाई उत्तर कोरियाली सेनाले गोली हानी हत्या गरेपछि तेल खन्याएर आगो लगाएको सिओलले जनाएको छ ।
दशकौंपछि उत्तर कोरियामा एक दक्षिण कोरयियाली अधिकारी मारिएपछि आफ्ना नागरिक मारिएको विरोधमा दक्षिण कोरियामा चर्को आक्रोश बढेको हो ।
किम जोङ उनले राष्ट्रपतिलाई पत्र लेख्दै भनेका छन्, ‘नहुनु पर्ने घटना भएको म माफि माग्न चाहन्छु ।’
यस घटनाप्रति उत्तर कोरियाको पहिलो औपचारिक टिप्पणी हो । उत्तर कोरियाले उक्त घटनाको अनुसन्धानको नतिजाबारे पनि जानकारी गराएको छ ।
‘ती व्यक्तिलाई १० पटक गोली हानिएपछि उनी उत्तर कोरियाली पानीमा खसेका थिए । त्यसपछि उनको पहिचान खुल्न नसकेपछि उत्तर कोरियाली सेनाहरु भागेका थिए,’ दक्षिण कोरियाली राष्ट्रिय सुरक्षाका निर्देशक सुह हुनले भने । बाह्रखरी डटकमबाट