मुख्यमन्त्री पौडेल भन्छन्,-‘एकाध व्यक्तिले विरोध गरेपनि हामीले उल्लेखनीय काम गरेका छौं ।’
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले प्रदेश सरकारले दुई बर्षमा उल्लेखनीय काम गरेको बताएका छन् ।
मुख्यमन्त्री पौडेलले शुक्रबार (हिजो) एनटिभी न्यूजसंग कुराकानी गर्दै मुख्यमन्त्री पौडेलले आफूहरु नयाँ व्यक्ति तथा संस्था हुँदाहुँदै पनि बागमती प्रदेश सरकारले केही पनि गर्न सकेको छैन भन्ने ठाउँ भन्ने नराखेको बताए ।
‘हामी नयाँ दुलही जस्तै भएर सरकारमा प्रवेश गरेका थियौं । हामीलाइ प्रदेशको कानून मात्र बनाउन एक बर्ष लाग्यो । अझसम्म पनि कुनै–कुनै कानून पास गर्न बाँकी छ ।’ उनले भने, ‘हामी विधि र पद्दतीमा चलेको छौं । सरकारलाइ असफल बनाउनेले त जे भन्न पनि पाइन्छ । हामीले समग्र जनताको हित र प्रदेशको विकासको लागि छोटो समयमा परिणाममुखी काम गरेका छौं । ’
उनले ठूला ठूला कामलाइ मात्र विकास भन्ने र सानो सानो काम देख्दै नदेख्नेले भन्दैमा प्रदेशले केही गरेन भन्न नमिल्ने बताए । आफूहरु जनताको आर्थिक विकास र भौतिक विकास दुवैलाइ समेटेर विकास गर्न लागेको दाबी गरे । अन्तरवार्तामा उनले एकतीस वर्ष आगाडी देखि सर्भेमा मात्र सिमित भीमफेदी कुलेखानी सुरुङ मार्ग लाई प्रदेशको गौरवको आयोजनाको रुपमा आगाडी बढाएको बताए ।
‘यो सुरुङ निर्माण हुँदा अत्यधिक रोजगारीको सम्भावना सिर्जना हुनेछ । हेटौंडाबाट नारायणघाट हुँदै काठमाडौ पुग्न २ सय २८ किलो मिटर छ । सुरुङमार्ग बनेपछि जम्मा ५५ किलोमिटरमा काठमाडौ पुग्न सकिन्छ । ’ उनले भने । सुरुङमार्ग प्रयोगमा आएपछि दैनिक लाखौं रुपैयाँको इन्धनमा पैसा बचत हुने उनले बताए ।
मुख्यमन्त्री पौडेलले प्रदेशको अरु थुप्रै योजना पनि अगाडी सारिएको बताए । प्रदेशका १३ वटै जिल्ला समेटेर प्रदेशको राजधानी हेटौंडासम्म आउने जति सक्दो छोटो बाटो बनाएर पुष्पलाल चक्रपथको परिकल्पना गरिरहेको उनले बताए ।
यस्तै, प्रदेशको १३ वटै जिल्लामा सुविधा सम्पन्न प्रदेश हस्पिटल, प्रदेश विश्व विद्यालय, सुविधा सम्पन्न एकीकृत बस्ती लगाउत महत्वपूर्ण विकासका कामहरु प्रदेश सरकारले अगाडी सारेको उनको भनाई छ । अन्तरवार्तामा उनले भनेका छन्,-‘अस्तिमात्र ३३ वटा पुल एकैसाथ उद्घाटन गरियो । दुई वर्षमा १३ सय किलोमिटर बाटो कालोपत्रे गरिएको छ ।’ मुख्यमन्त्री पौडेलले एकाध व्यक्तिहरु सरकारको बिरोधमा लागेपनि प्रदेश सरकार सबैलाइ समेटेर पूर्वाधार विकास, आर्थिक विकास, सामाजिक विकास, कृषि पर्यटन लगायत सबै क्षेत्रमा विकासका लागि कामहरु गर्न आफूहरु सफल भएको दाबी गरे ।