करण जौहर भन्छन्- न म ड्रग्स लिन्छु, न मेरो पार्टीमा ड्रग्स हुन्छ
मकवानपुर । निर्देशक तथा निर्माता करण जौहरले एक विज्ञप्ति जारी गर्दै आफूले आयोजना गर्ने पार्टीमा लागुऔषध नहुने बताएका छन् ।
“केही मिडिया र सामाजिक सञ्जालमा २०१९ को २८ जुलाईमा मेरो घरमा भएको पार्टीमा लागुऔषध सेवन गरेको भन्ने गलत खबरहरु फैलिरहेको छ,” करणद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “मैले २०१९ मा नै यो खबर गलत हो भनेर स्पष्ट गरिदिएको थिएँ । अहिले फेरि फैलिएको भ्रष्टभ्रामक अभियान देख्दा म पुनः एकपटक भन्न चाहन्छु की यी आरोपहरु आधारहीन र गलत छन् । उक्त पार्टीमा कुनै पनि किसिमको लागुऔषध सेवन गरिएको थिएन ।”
करणले आफूले लागुऔषध सेवन नगर्ने र यस्तो पदार्थको सेवनलाई बढावा नदिने पनि बताएका छन् । साथै यस्ता समाचारका कारण उनलाई, परिवार र उनीसँग कामगर्ने व्यक्तिहरुलाई मानसिक पीडा भएको र यसका कारण उनी घृण र मजाकको शिकार भएको करणले गुनासो पोखेका छन् ।
सुशान्तसिंह राजपूतको मृत्यु प्रकरण मुद्दा लागुऔषध विषयमा मोडिएसँगै बलिउडमा लागुऔषधबारे सोधखोज सुरु भएको हो । जसमा करणको घरमा २०१९ मा आयोजित पार्टीका भिडियो र फोटोहरु भाइरल भएको थियो । उक्त फोटो र भिडियोमा थुप्रै बलिउडकर्मीहरु नशामा तल्लिन देखिएको थियो, जसकारण करणको पार्टीमा लागुऔषध उपलब्ध थियो भन्ने खबरहरु बाहिरन थालिएको हो ।
खासगरी उक्त पार्टीको भिडियो करण स्वयंले आफ्नो इन्स्टाग्राममा सेयर गरेका थिए । एनसीबीले लागुऔषध मुद्दामा थुप्रै बलिउडकर्मीसँग सोधपुछ गरिरहेको छ । सोधपुछको क्रममा कैयौंको सम्बन्ध करणको कम्पनी धर्मा प्रोडक्सनसँग देखिएको छ ।
यी खबरहरु फैलिएसँगै करणले विज्ञप्ति जारीगर्दै लागुऔषध मुद्दा उनको र धर्मा प्रोडक्सनको कुनै सम्बन्ध नभएको बताएका हुन् । विज्ञप्तिमा करणले मिडियामा आइरहेका खबरलाई झुटो भएको भन्दै आवश्यक परे यीविरुद्ध कानुनी उपाय अपनाउन पनि पछि नहट्ने उल्लेख गरेका छन् । बाह्रखरी डटकमबाट