आज ४१औं विश्व पर्यटन दिवस, नेपालको नारा- ‘दिगो विकासका निम्ति ग्रामीण पर्यटन’

लोकखबर
११ आश्विन २०७७, आईतवार १३:०६

मकवानपुर ।आज ‘४१ औं विश्व पर्यटन दिवस’ विविध कार्यक्रम गरी मनाइँदै छ ।

यस वर्ष ‘दिगो विकासका निम्ति ग्रामीण पर्यटन’ भन्‍ने मूल नाराका साथ देशैभर विभिन्न कार्यक्रम गरी पर्यटन दिवस मनाइँदै छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पर्यटन दिवसको अवसरमा काठमडौंको चोभार स्थित मन्जुश्री पार्क पुगेर वृक्षरोपण गरेका छन् । सो अवसरमा मन्त्री भट्टराईले कोभिड १९ का कारण अर्थतन्त्रमा नराम्रोसँग धक्का परेको अवस्थामा पर्यटनको क्षेत्रबाट अर्थतन्त्रलाई उठाउन सकिने बताए ।

कोभिडका कारण देशको आम्दानीका स्रोतहरु घटेको अवस्थामा राज्यले मानिसको स्वास्थ्यलाई जोगाउन पहिलो प्राथमिकता दिएपनि पर्यटन क्षेत्रको विकासका लागि पनि विभिन्न कार्यक्रम ल्याउने बताए । राज्यको आम्दानीको स्रोतको विकास गर्न उपत्यका वरिपरिका डाँडाँहरुलाई घुम्न जाने नजिकको गन्तव्यका रुपमा विकास गरिने उनले बताए । चोभारलाई पनि त्यसै कार्यक्रमसँग जोडेर विकास गरिने मन्त्री भट्टराईले स्पष्ट पारे ।

मन्जुश्री पार्कसँगसँगै उपत्यका वरिपरिका पहाडहरुलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सके उपत्यकाको रात्रिकालीन जीवनको पनि सुरुवात हुने मन्त्री भट्टराईको भनाइ छ । उनले अबको पर्यटन ग्रामीण पर्यटनमाथि केन्द्रित हुनुपर्ने पनि स्पष्ट पारे । ग्रामीण पर्यटनको विकासमा काम गर्न सके ग्रामीण क्षेत्रका मानिसहरुको आर्थिक जीवनमा समेत परिवर्तन ल्याउन सकिने विश्वास मन्त्री भट्टराईको छ । बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*