बरामद गरिएको प्याज खरिद-बिक्रीमा दूरी कायम भएन

मकवानपुर । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले क्यूआर कोड प्रयोगमा ल्याएको छ । कम्पनीले आइतबारबाट प्रयोगमा ल्याएको क्यूआर कोडबाट प्याज बिक्री पनि गरेको छ । अब कम्पनीबाट खरिद-बिक्री हुने वस्तुका लागि नगदै दिनुपर्छ भन्ने नभएको सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले बताइन् । “कम्पनीले क्यूआर कोड प्रयोगमा ल्याएको छ । यसबाट पनि भुक्तानी गर्न सकिन्छ,” उनले भनिन् ।
तीन दिनमा ९० क्विन्टल प्याज बिक्री
कम्पनीले तीन दिनमा ९० क्विन्टल प्याज बिक्री गरेको छ । कम्पनीको थापाथली कार्यालय र बल्खु कार्यालयबाट गत शुक्रबारदेखि प्याज बिक्री हुँदै आएको छ । बजार अनुगमनका क्रममा बरामद गरिएको प्याज कम्पनीले बिक्री गरिरहेको हो । कम्पनीले बरामद गरिएका प्याज प्रतिकिलो ६० रुपैयाँमा बिक्री गरेको छ । ६० रुपैयाँमध्ये प्रतिकेजी ५२ रुपैयाँ धरौटीबापत जिल्ला प्रशासन कार्यालयमा बुझाइने कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीले बताए । “मुद्दा परेका व्यापारीले जिते धरौटीबापतको पैसा लिन्छन्, मुद्दा हारे त्यो पैसा सरकारको खातामा जान्छ,” उनले भने ।
वाणिज्य विभागले बजार अनुगमनका क्रममा महँगोमा प्यास बेच्दै गरेको पाएपछि बरामद गरेको थियो । भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएको समाचार सार्वजनिक भएसँगै बजारमा प्याजको भाउ बढाइएको थियो । त्यसपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट ग्राहक बनेर प्याज खरिद गर्दा जथाभावी रुपमा मूल्य कायम गरिएपछि त्यस्ता व्यापारीबाट जफत गरिएको थियो । त्यही जफत गरिएको प्याज कम्पनीले बिक्री गरिरहेको हो ।
कम्पनीले प्रतिकिलो ६० रुपैयाँका दरले एक जनालाई ३ किलो प्याज बिक्री गरिरहेको छ ।
कोरोनाको प्रवाह नगरी लाइनमा उपभोक्ता, दूरी कायम भएन
बजार मूल्यभन्दा आधैजस्तो मूल्यमा प्याज खरिद गर्न उपभोक्ताको लाइन छ । कोरोनाको प्रवाह नगरी उपभोक्ता लाइनमा छन् । सरकारले २५ जना भन्दा बढी भेला हुन नपाइने भने पनि त्यो नियम भने प्याज बिक्री गरिएको स्थानमा लागु भएको छैन ।
उपभोक्ता लाइनमा बस्दा न्यूनतम १ मिटरको दूरी कायम गरिएको छैन । कम्पनीले पनि त्यसतर्फ ध्यान दिएको देखिँदैन । सूचना अधिकारी सुवेदीले प्याज किन्न आउने उपभोक्ता सचेत बन्नुपर्ने बताइन् । “हामीले दूरी कायम गर्न भन्दै आएका छौं तर हुन सकिरहेको छैन । त्यसले राम्रो देखिएको छैन,” उनले भनिन् । बाह्रखरी डटकमबाट