वामदेवविरुद्धको मुद्दा संवैधानिक इजलासमा सुनुवाइ हुँदै
मकवानपुर । सत्तारुढ दल नेकपाका नेता वामदेव गौतम राष्ट्रियसभा सदस्य र मन्त्री बन्न अयोग्य रहेको भन्दै दायर रिट आज संवैधनिक इजलासमा सुनुवाइ हुँदै छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले गौतमको योग्यतामा प्रश्न उठाउँदै असोज ६ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
विषयविज्ञ र राष्ट्रिय जीवनमा विभिन्न क्षेत्रमा योगदान गरेका व्यक्तिलाई राष्ट्रियसभा लैजानका लागि राष्ट्रपतिले मनोनीत गर्ने व्यवस्था संविधानमा गरिएको र त्यसमा गौतम नपर्ने निवेदकको जिकिर छ । यसअघि सर्वोच्च अदालतले गौतमको नियुक्ति यथास्थितिमा राख्न आदेश गर्दै संवैधानिक इजलासमा पठाउने आदेश गरेको थियो ।
राष्ट्रपति कार्यालयलाई विपक्षी बनाउँदै दायर रिटमाथि आज प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, न्यायाधीश दीपककुमार कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वर खतिवडाको संवैधानिक इजलासमा सुनुवाइ हुनेछ ।
असोज ७ गते आनन्दमोहन भट्टराईको एकल इजलासले गौतमकमे मुद्दामा गम्भीर संवैधानिक प्रश्न रहेको भन्दै संवैधानिक इजलासमा पठाउने र निवेदकले गौतमको नियुक्ति बदर माग गरेकामा किन अन्तरिम आदेश जारी नहुनुपर्ने भन्दै जवाफ पेस गर्न आदेश गरेको थियो ।बाह्रखरी डटकमबाट