कांग्रेस नेताको पीसीआर परीक्षण
मकवानपुर । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति अघि नेताहरुको कोरोना परीक्षण गरेको छ ।
पार्टी कार्यालय सानेपामा कांग्रेसले केन्द्रीय सदस्यहरुको कोरोना परीक्षण गरेको हो । कोरोना परीक्षणका लागि स्वाव दिन कांग्रेसका नेताहरु बिहीबार सानेपा पुगेका थिए ।
कांग्रेसले असोज १९ केन्द्रीय समितिको बैठक बोलाएको छ । त्यसअघि सबै नेताहरुको कोरोना परीक्षण गरिएको कांग्रेस नेता कृष्ण सिटौलाले जानकारी दिए ।
केन्द्रीय समिति बैठकमा महाधिवेशनको एजेण्डामाथि छलफल हुने उनले बताए । सिटौलाले यस पटक बैठकमा खुलेर छलफल हुने र कार्यबिधी तथा कार्यतालिकामा सहमतिका साथ अघि बढ्ने निष्कर्ष निकाल्नुपर्ने बताए ।
केन्द्रीय समितिको बैठकबाट सडक आन्दोलनका कार्यक्रम तय गर्ने र संसदीय दलको बैठक बोलाएर संघीय संसद्को विशेष अधिवेशन माग गर्ने तयारी पनि कांग्रेसले गरेको छ । त्यस्तै नेता रामचन्द्र पौडेलसहित २७ केन्द्रीय सदस्यले दर्ता गराएको विरोधपत्रका बारेमा पनि छलफल हुने बताइएको छ ।खबरहब डटकमबाट