त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हेल्थ डेस्कका ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

मकवानपुर ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हेल्थ डेस्कमा खटिएका ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ।
हेल्थ डेस्कमा खटिएका साथीलाई कोरोना संक्रमण देखिन थालेपछि अन्य स्वास्थ्यकर्मीले त्रास बढेको बताएका छन्। पर्याप्त सुरक्षा सामग्री बिना नै काममा खटिनुपर्दा संक्रमण भएको उनीहरुले बताएका छन्।
विमानस्थलको अन्र्तराष्ट्रिय हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मी भन्छन्, ‘आन्तरिक र बाह्य उडान सूचारु भएपछि मानिसको आवागमन बढेको छ। दैनिक ४ देखि ५ हजार मानिससँग हाम्रो सम्पर्क हुन्छ। हामीलाई आवश्यक मात्रामा सुरक्षा सामग्री उपलब्ध नभएकोले संक्रमण हुने सम्भावना पनि धेरै छ।’
उनीहरुले पटकपटक इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र स्वास्थ्य सेवा विभागमा माग गरिरहेको र उपलब्ध गराइने आश्वासन दिए पनि पर्याप्त सुरक्षा सामग्री नपाएको गुनासो गरेका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हेल्थ डेस्कका कोर्डिनेटर गोपालप्रसाद पाण्डेसहित आन्तरिकका एक र अन्तर्राष्ट्रिय हेल्थ डेस्कमा खटिएका ३ जना गरी ४ जनामा एक हप्ताको अवधिमा संक्रमण देखिएको छ।
हेल्थ डेस्कका कोअर्डिनेटर गोपालप्रसाद पाण्डेले शनिबार पिसिआर जाँच गरेको र आइतबार पोजिटिभ रिपोर्ट आएपछि आइसोलेसनमा बसेको जानकारी दिए।
उनले पछिल्लो समय दैनिक १५, १६ वडा उडान भइरहेकोले अवस्था पहिलेकै मानिसको मुभमेन्ट बढेको बताए।
उनले आफूसहित अन्य ३ जना आइसोलेसनमा रहेकाले आइतबार दुई र आज दुई जना स्वास्थ्यकर्मी रिक्त स्थानमा खटिएको जानकारी दिए।
अन्तर्राष्ट्रिय हेल्थ डेस्कमा खटिएका एक स्वास्थ्यकर्मीलाई अस्पताल भर्ना गरिएको छ। उनलाई एपिएफ अस्पताल बलम्बुमा उपचार लागि भर्ना गरिएको छ भने अन्य ३ जना होम आइसोलेसनमा बसेको बताइएको छ। होम आइसोलेसनमा बसेकामध्ये एक स्वास्थ्यमकर्मी दम्पती छन्। उनीहरुमध्ये श्रीमती स्वास्थ्य सेवा विभाग टेकु र श्रीमान् विमानस्थलमा कार्यरत रहेको बताइएको छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ मेडिकल सुपरिडेन्डेन्ट तथा हाल विमानस्थल हेल्थ डेक्स फोकल पर्सन डा हेमन्त ओझाका अनुसार आन्तरिक विमानस्थलको हेल्थ डेस्कमा ६ जना र अन्तर्राष्ट्रिय हेल्थ हेस्कमा २१ जना गरी २७ जना स्वास्थ्यकर्मी खटाएको छ।
बिहान, दिउँसो र राति गरी ३ सिफ्टको ड्युटीमा खटाइएको ओझाले जानकारी दिए।
आन्तरिकमा एक सिफ्टमा २ देखि ३ जना र अन्तर्राष्ट्रियमा ५ देखि ६ जना स्वास्थ्यकर्मी खटिन्छन्। उनीहरुले आउने र जाने दुवै यात्रुको स्वास्थ्य जाँच गर्नुपर्ने हुन्छ।
सरकारले राष्ट्रिय र अन्तर्राष्ट्रिय उडान सूचारु गरेपछि मानिसको आवागमन बढ्दा संक्रमण देखिन थालेको छ।
सरकारले अन्तर्राष्ट्रिय यात्रुका लागि पिसिआर रिपोर्ट अनिवार्य गरे पनि आन्तरिक हवाई यात्रुका लागि भने पिसिआर अनिवार्य गरेको छैन।
पछिल्लो समय देशभर कोरोना संक्रमितको संख्या बढिरहेको छ। देशभर ८०० सय बढी स्वास्थ्यकर्मी संक्रमित भएको बताइएको छ। काठमाडौं उपत्यकामा कुल संक्रमितको ६० प्रतिशतभन्दा संक्रमित देखिएको छ। स्वास्थ्यखबर डटकमबाट