स्वस्थ देखिन राष्ट्रपति ट्रम्पको खतरनाक निर्णय
मकवानपुर ।अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प आफ्ना समर्थकसामु आफू ठीक रहेको देखाउन अस्पतालबाट बाहिर निस्केर मोटरमा घुमेका छन् ।
अमेरिकी दैनिक पत्रिका द न्युयोर्क टाइम्सले प्रकाशित गरेको समाचारअनुसार अमेरिकी सेनाको वाल्टर रिड मिलिटरी अस्पतालबाट मोटरमा बाहिरिएर राष्ट्रपति ट्रम्पले आफ्ना समर्थकलाई अभिवादन गरेका थिए ।
उनको यो कामलाई अस्पतालका डाक्टरहरूले खतरनाक कदमको रुपमा बयान गरेका छन् । टाइम्सको भनाइमा त्यस अस्पतालका डाक्टरहरूले उनको रगतमा अक्सिजनको मात्रा दुई दिनमा दुईपटकसम्म निकै ओर्लिएको बताएका थिए। अहिले उनलाई स्टेरोइड दिइएको छ ।
अमेरिकी राष्ट्रपति निर्वाचनका लागि केवल ३० दिन बाँकी रहेको यो अवस्थामा राष्ट्रपति ट्रम्पमा कोरोनाको संक्रमण देखिनु उनका लागि निकै प्रत्युत्पादक हुन सक्छ । स्वास्थ्यको कारणले आफूलाई कमजोर ठानेर मतदाताले मन फेर्लान् भन्ने पीरका कारणले उनी मोटरमा बसेर बाहिर निस्केको हुनसक्ने अनुमान गरिएको छ ।
ट्रम्पको स्वास्थ्यको खबर बाहिर नआएको विषयमा पनि विज्ञहरूले विरोध जनाएका छन् ।
पहिले राष्ट्रपति ट्रम्पको अक्सिजनको लेभलका विषयमा जनतालाई अस्पतालले कुनै जानकारी नदिएकाले राष्ट्रपतिको स्वास्थ्यको बारेमा आएको सूचनाको विश्वसनियतामा प्रश्न उठेको समेत टाइम्स पत्रिकाले जनाएको छ । अहिलेसम्म अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट करिब २ लाख १० हजार मानिसको मृत्यु भैसकेको छ र यो देश कोरोना संक्रमितको संख्याको आधारमा पनि सबैभन्दा अगाडि छ ।
अस्पतालमा भर्ना भएको तेस्रो दिनमानै राष्ट्रपति ट्रम्प बिनासूचना अस्पताल बाहिर घुम्न निस्केका थिए ।
उनको मोटरको ताँती आइतबार साँझ (नेपाली समयअनुसार सोमबार बिहान) अस्पतालबाट निस्कँदा बाहिर उनका समर्थकको लाइन थियो । उनले कोट र मास्क लगाएका थिए तर टाई कसेका थिएनन् । उनी चढेको सेभ्रोले सबअर्बन मोटरको भित्रैबाट उनले हात हल्लाएर समर्थकलाई अभिवादन गरेका थिए ।
बाह्रखरी डटकमबाट