अन्याय गर्ने विरुद्द अघि बढ्ने पत्रकार महासंघ बागमती प्रदेशको निर्णय
मकवानपुर । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समिति कोरोना भाइरस (कोभिड १९) का बाहनामा पत्रकारमाथि अन्याय गर्ने विरुद्दमा लाग्ने भएको छ ।
कोरोना माहामारीको कारण देखाउँदै सञ्चारगृहहरुले श्रमजीवी पत्रकारहरुलाई दबावपूर्ण बेतलबी बिदामा राख्ने, निष्काशन गर्ने, पारिश्रमिक कटौती गर्ने, काम गर्ने वातावरण बिथाल्ने, नियमित पारिश्रमिक नदिने जस्ता गुनासो आएको भन्दै महासंघले यस्ता कार्यप्रति खेद व्यक्त गर्ने निर्णय गरेको छ ।
महासंघको असोज १९ र २० गते चितवनको पर्यटकीय नगरी सौराहमा बसेको पत्रकार महासंघ बागमती प्रदेशको सातौ बैठकले कोरोना माहामारीका बेला पत्रकारमाथि भएको अन्याय विरुद्द आफूहरु लागिपर्ने निर्णय गरेको हो ।
महासंघ वागमती प्रदेश समितिका अध्यक्ष प्रताप विष्टको अध्यक्षतामा बसेको बैठकले कोरोना माहामारीका बेलामा पत्रकारमाथि भएका अन्याय तत्काल बन्द गर्न सम्बन्धित पक्षसँग माग गरेको छ । बैठकले श्रमजीवि पत्रकारका हकहित विरुद्दका क्रियाकलाप रोक्न सशक्त, दवाबमुलक अभियान सञ्चालन गर्ने निर्णय गरिएको महांघ प्रदेश समितिका महासचिव कृष्ण सारु मगरले जानकारी दिए ।
यस्तै, नयाँ सदस्यता र सदस्यता नवीकरण सम्बन्धमा बागमती प्रदेश समिति अन्तर्गतका जिल्ला शाखाबाट प्राप्त भएका सिफारिस, गुनासो तथा उजुरीबारे छलफल गरी निष्कर्षमा पुग्ने निर्णय गरेको छ । यसका १५६ नयाँ सदस्यहरु जिल्ला समितिको निर्णयको प्रतिलिपि सहित सिफारिस प्राप्त भएकाले सदस्यता स्वीकृत गरी अनुमोदन गर्ने र अभिलेखको लागि केन्द्रीय समितिमा पठाइने भएको छ । साथै, विवादित तथा उजुरी र गुनासो आएका जिल्लाहरुको हकमा आगामी बैठकमा प्रतिवेदन पेश गर्ने गरी कोषाध्यक्ष सीताराम अधिकारीको संयोजकत्वमा कार्य समिति सदस्यद्वय इश्वर जोशी र प्रवीण बराल सदस्य रहेको एक अध्ययन कार्यदल गठन गरिएको छ ।
महासचिव सारु मगरका अनुसार केन्द्र, प्रदेश र स्थानीय तहबाट सञ्चारसम्बन्धी नीति र कानून तय गर्दा प्रेस स्वतन्त्रतामा अंकुश नलगाउन तथा पत्रकार महासंघ सहित सरोकार पक्षसँग छलफल गरी सहमति कायम गर्न आग्रह गर्ने, कोभिड–१९ को संक्रमण तीव्र रुपले बढिरहेको बेलामा पनि अग्रभागमा रहेर पेशागत कर्म निर्वाह गरिरहेका पत्रकार पनि संक्रमित हुने क्रम बढेकाले पत्रकारहरुको आरटि पीसीआर परीक्षण र संक्रमितहरुको उचित उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गर्ने, कोरोनाका कारण आर्थिक मारमा परेका सञ्चारमाध्यम र सञ्चारकर्मीलाई राहत तथा सञ्चारमाध्यमलाई सहुलियतपूर्ण ऋणको ब्यवस्था गर्न तीनै तहको सरकारसँग माग गर्ने निणय पनि गरिएको छ ।
यसका साथै कोभिड-१९ को मारमा परेको सौराहासहित चितवनको पर्यटन क्षेत्रलाई पुनर्जीवन दिन तथा पर्यटन क्षेत्रको आवश्यक समग्र विकासको लागि सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराउने निर्णय समेत गरिएको महासचिव सारु मगरले बैठकको निर्णय सार्वजनिक गर्दै बताएका छन् ।