जिससको टोली मकवानपुरगढी गाउँपालिका अनुगमनमा

लोकखबर
२० आश्विन २०७७, मंगलवार २०:४४

मकवानपुर । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको टोलीले मकवानपुरगढी गाउँपालिकामा चालु आवको चौमासिक अनुगमन गरेको छ ।

पालिका अनुगमन गर्दै जिसस प्रमुख रघुनाथ खुलालले असारे विकासको परिपाटीमा सुधार ल्याउन सुझाव दिएका छन् । चालु आर्थिक वर्षको चौमासिक अनुगमनका क्रममा आज (मंगलबार) जिल्लाको मकवानपुरगढी गाउँपालिको अनुगमनका क्रममा उनले असारे विकासका कारण समयमै काम सम्पन्न गर्न नसक्दा विभिन्न समस्याहरु आएकाले समयमै योजना कार्यान्वयन गर्न सुझाव दिए ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष विदुर हुमागाईले जिल्ला समन्वय समितिबाट नियमित अनुगनका लागि आग्रह गरे । उनले नियमित अनुगमनले स्थानीय तहलाई पृष्ठपोषण पाईने हुँदा यसको निरन्तरताकालागि आग्रह गरे ।

अनुगमनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीले चालु आर्थिक वर्षका लागि ६८ करोड २६ लाख ६३ हजार बजेट विनियोजित भएकोमा हालसम्म करिब १० प्रतिशत बजेट खर्च भएको बताए ।

मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ र ४ का वडाअध्यक्षले गाउँपालिकामा भौगोलिक विकटताका कारण खानेपानीको समस्या रहेको, गाउँबाट बसाईसराई गर्नेलगायतका समस्या रहेको बताए ।

अनुगमनमा जिल्ला समन्वय समितिका सदस्य देवराज रिमाल, सीता अधिकारीलगायतको सहभागिता थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*