‘कोरोना जित्न सामान्य रुपमा लिने, हेलचेक्र्याँई नगर्ने’
बागमती प्रदेशसभा सदस्य, नेकपा मकवानपुर अध्यक्ष मुनु सिग्देल कोरोना सङ्क्रमणमा परिन् । पन्ध्र दिन होम आइसोलेसनमा बसेर कोरोना जितेपनि उनलाई लागेको छ- कोरोना सामान्य हो तर हेलचेक्राई गर्नुहुन्न । आफूलाई कहाँबाट कसरी सर्यो भन्ने उनलाई थाहै भएन । हेटौंडाबाट काठमाडौं गएपछि शरीरलाई केही असजिलो भएपछि उनले कोरोना जाँच गराएकी थिइँन् । परिवारका सदस्यसंगै खाने बस्ने गरेपछि श्रीमान् (संघीय सांसद विरोध खतिवडा) र उनको रिर्पोट पोजिटिभ आएको थियो । कोरोना कहरमा मकवानपुरमा सङक्रमणमा परेकाहरुको अवस्था बुझ्ने, राहत वितरण गर्ने, आइसोलेसन वार्डको अनुगमन गर्ने, सङ्क्रमितलाई हौसला प्रदान गर्ने काममा सक्रिय हुँदाहुँदै काठमाडौं गएका बेला कोरोना पुष्टि भएर कोरोना जितेको अनुभव सिग्देलले मध्यस्थतासंग सुनाएकी छिन् ।
कसरी सङ्क्रमित भएँ थाहै भएन
कोरोना सङ्क्रमितलाई भेट्न म विभिन्न ठाउँमा पुगेको थिए । उहाँहरुको अवस्था बुझ्न, सान्त्वना दिन उहाँहरु रहनुभएको ठाउँ, वडा, टोल-टोलपुँगे । संक्रमितले उपचार गराईरहनुभएका आइसोलेसनमा गएँ । यसरी विभिन्न ठाउँमा पुग्दा आफूलाई असाध्यै सुरक्षित राखेको थिए । कोरोनाबाट बच्नका लागि आवश्यक सुरक्षा, सावधानी अपनाएको थिएँ । हेटौंडामा बसुञ्जेल कोभिडले छोएको कुनै लक्षण नै ममा थिएन । कोरोना सङ्क्रमितको अवस्था बुझ्न विभिन्न ठाउँमा जाँदाखेरी होस् वा कोरोना सङ्क्रमित प्रभावितलाई सहयोगका कार्यमा सरिक हुँदा मलाई त्यस्तो कुनै समस्या पनि भएको होइन । तर गत असोज ५ गते म काठमाडौं गए । मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष काठमाडौं जाँदै हुनुहुँदो रहेछ । उहाँसंगै गाडीमा काठमाडौं गइएको हो । काठमाडौंमा घरमै बसेंको हुँ । एक दिन चाँही भाटभटेनी गएको थिएँ । परिवारका सदस्य छोरी, बहिनीसंग म त्यहाँ गएको थिएँ । यही बिचमा मलाई हाछ्यु आउँन थालिसकेको थियो । हाछ्युलाई मैले सामान्य रुपमा लिएँ । तीन-चार दिनपछि घाँटी, छाती दुख्न थालेकाले मैंले जचाँए । मलाई कहाँबाट कोरोना भयो भन्ने कुरा आफैंलाई अचम्म लागिरहेको छ । मसंग आउने गाडीका कसैलाई पनि कोरोना भएको थिएन । घरमा पनि अरुलाई भएको होइन । हेटौंडामै सङ्क्रमित भयो भने हेटौंडा हुँदा कुनै लक्षण थिएन । काठमाडौं पुगेपछि कहिँ कतै गएको, सङ्क्रमितलाई भेटेको पनि थिइँन । मैले भेटेका काठमाडौंका आफन्त कसैलाई पनि कोरोना थिएन । यस प्रकारले हेर्दा कोरोना कहाँबाट कसरी सर्दो रहेछ भन्ने कुरा पत्तो भएन । मलाई लाग्न पनि के लाग्थ्यो भने हामी हिडीरहने मानिसलाई कुनै न कुनै बेला सङ्क्रमण त हुन पनि सक्छ । अनि यसबाट धेरै प्रभावित भइसकेको छन् । सङ्क्रमित भइसकेपछि पनि धेरैले कोरोना जितेका छन् । यसले मलाई लडाउन सक्दैन भन्ने कुरा चाँही मलाई विश्वास थियो । सङ्क्रमित भएपछि खासै त्यस्तो बिरामी पनि भइएन । विरामी भएका पनि निको भएका छन् भन्ने कुरा मनमा लिएर आत्मविश्वासका साथ होम आइसोलेसनमा बसेर कोरोनालाई जिते । म आफूलाई भन्दा पनि परिवारमा हनुभएका ८७ वर्षको ससुरालाई सङ्क्रमण होला कि भन्ने चिन्ता थियो । तर परिवारका सबै सदस्यको पीसीआर परिक्षण गराउँदा अरुलाई देखिएन श्रीमान् विरोध जी र मलाई देखियो । घरका हामी दुई जना सङ्क्रमित भएकाले कोरोनालाई कसरी जित्ने भेर सल्लाह, कुराकानी गर्न सजिलो भयो । कोरोना सङ्क्रमण भइहालेमा केही हुँदैन भन्ने आत्म विश्वास लिने अनि सधैं खुशी भइरहनुपर्ने रहेछ । साथै आफ्नो खानपान, आहार विहारमा ध्यान दिनु पनि पर्दछ । सङ्क्रमित भएर निको भएकाहरुको अनुभव सुन्दा उहाँहरु पनि म बाँच्नुपर्छ भनेर आत्मविश्वास दरो बनाएको पाएको थिएँ । उहाँहरुको यही आत्मविश्वास, साहसका कारण उहाँहरु कोरोनामुक्त हुनुभएको हो । मलाई शारिरिक रुपमा त्यस्तो धेरै गाह्रो त भएन, तर पनि पन्ध्र दिनसम्म त आइसोलेसनमा कोठाभित्रै बस्नु परिहाल्यो । मानसिक रुपमा म आइसोलेसनमा यसरी बस्नुपर्छ भन्ने सोचिएपछि सजिलो हुँदोरहेछ, बसिँदो रहेछ ।
दैनिक झोलिलो खाएँ
मेरो पहिले देखिकै बानी भनकोे विहान उठेपछि नियमित एक लिटर पानी पिउने गर्छु । आलस, ज्वानो र मेथीको मिश्रण बनाएर पानीमा भिजाएर फेरि खाने गरेको छु । बेलुका भिजाएर राखेको गुर्जो खाइनै राखेको थिएँ । बेसारपानी पहिलेदेखिकै निरन्तर रुपमा खाइएको हो । बेलुका पनि बेसार पानी खाइ नै रहेको छु । पहिले चेवनप्रास खान्नथिएँ तर यो बेला मैले खाएँ । हेटौंडाबाट गएको अर्को एउटा आयुर्वेदिक औषधी खाएँ । हेटौंडाकै एक जना डाक्टरले बनाउँनु भएको इम्युनिटी पावर बढाउने औषधी पनि खाएँ । इम्युनिटी बनाउँन सहयोग पुग्ने झोल कुराहरु खाएँ । पहिले विहान नास्ता खासै खाँइदैन थियो तर एउटा अन्डा अनि एक गिलास दूध नियमित रुपमा खाएँ । डाक्टरसंगको सल्लाहमा भिटामिन ‘सी’ अनि भिटामिन ‘डी’ पनि मैले खाएँ । पाँच दिनसम्म लगातार एन्टिबायोटिक पनि मैले खाएँ । सुरुमा एक- दुई दिन कम्भर दुख्ने, अगाडी पछाडीको भाग दुख्ने समस्या भएको थियो । यो के भएर गाह्रो भयो, कोरोनाले त होइन होला भन्ने लागेको थियो । किन यस्तो दुखाई भयो भनेर मैले डाक्टरलाई सोधेर औषधी खाएपछि निको भएको थियो । तातोपानीमा कागती राखेर हरेक दिन प्रसस्त पिइयो । तीन पटक बाफ पनि लिइयो । गुर्जो, ल्वाङ्, सुकुमेल, दालचिनी, अदुवा, बेसार, जिरा यी सबै मिसाएर विहान एक डेक्ची पानी पकाएर दिनमा तीन चोटी विहान, दिउशो र बेलुका खाएँ ।
खानाको स्वाद केही नहुँदा पनि खानुपर्छ भनेर खाइयो । दश एघार दिनसम्म खानाको केही स्वाद पाउँन सकिँन । तेह्र दिनसम्म अलि गाह्रो भइरहेको थियो । चौध दिनपछि नाक अलिअलि खुल्यो ।
सामान्य लिने, सुरक्षित रहने
कोरोना लाग्यो भनेर जटिल रुपमा लिने अब म मरिहाल्छु भन्ने रुपमा लिइयो भने यसले चाप्दै जान्छ । समान्य हो, यसलाई जित्न सकिन्छ भन्यो भने यसलाई जित्न सकिन्छ । यसलाई साधारण रुपमा लिएर हेलचेक्राई गर्नु हुँदैन अनि सङ्क्रमित भइसकेपछि बर्बाद भयो भनेर डराउनु पनि पर्दैन । सामान्य रुघाखोकी लाग्दा तातोपानी, काँडापानी बनाएर खाँदा एक हप्तामा निको हुन्छ । तर कोरोना सङ्क्रमित भइएपछि पन्ध्र- सोह्र दिनसम्म भइसक्दा पनि पूर्ण रुपमा निको नहुने रहेछ । कोरोना पुन : परिक्षणपछि रिर्पोट नेगेटिभ आएपनि केही दिनसम्म गाह्रो हुँदोरहेछ । आफू बलियो, स्वस्थ्य भएकाले आफूलाई जटिल समस्या नभएपनि अरुलाई लाग्नसक्छ भनेर अचेत हुनुुपर्छ । पाका उमेरका वा अन्य रोगबाट ग्रसित भएकालाई गाह्रो हुनसक्ने भएकाले आफूलाई केही हुन्न भनेर अरुलाई सङ्क्रमण भएपनि उस्तै त हो भन्ने लिनु हुँदैन । मेरो परिवार भित्रकै आफन्तलाई कोरोना भएपछि अरु मान्छेले आत्तिएर लौ बर्बादै भयो भन्ने कुरा पनि गरेका थिएँ । मैले केही हुन्न, यो सामान्य हो भनेर सम्झाउने काम पनि गरेँ । काठमाडौंमा डेरा भएकाहरुलाई सङ्क्रमणमा परेपछि त्यहाँ बस्न नदिएकाले होटलमा गएर पैसा हुँदा नहुँदा पनि दिनको चार-पाँच हजार रुपियाँ तिरेर बस्नु परेको छ । कतिपय ठाउँमा आफ्नो कोठा छाडिदिएर कोरोना सङ्क्रमितलाई बस्न दिएको अवस्था पनि छ । केही मान्छेहरु बाहिर हिड्दा पनि माक्स नलगाउँने गरेको, कोरोना केही होइन भन्दै हेलचेक्राई गरेको पनि देखेको छु । एउटै कोठामा बस्ने हामी बाहेक मेरो घरमा पनि अरुलाई सरेन । संगै खाने बस्ने गरिएको हो तर सबैलाई सरिहाल्ने भन्ने पनि होइन रहेछ । अरुलाई सरिहाल्ने र कम सर्ने खालको भाइरस हुँदो रहेछ । कसैलाइै धेरै गाह्रो हुने र कसैलाई खासै गाह्रो नहुने भन्ने कुरा भाइरसका आधारमा हुने रहेछ । जटिल रोग हो भनेर आत्तिएर हातखुट्टै छाड्ने होइन, सहज हो भनेर लापरवाही गर्ने पनि होइन । सामान्य रुपमा लिने, सुरक्षित रहने, आफू सङ्क्रमणमा परेपछि अरुलाई आफूबाट नसरोस् भन्ने कुरामा पनि उत्तिक्कै ध्यान दिइनुपर्छ ।
आज कात्तिक २ गते प्रकाशित मध्यस्थता साप्ताहिकबाट