‘बलात्कारीलाई हदैसम्मको सजाय दिने कानुन ल्याउनेबारे छलफल हुँदै छ’

लोकखबर
२०७७ कार्तिक २, आईतवार १४:४०

मकवानपुर । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले बलात्कारीलाई हदैसम्मको सजाय दिनेगरी कानुन संशोधनबारे छलफल भइरहेको बताएकी छन् ।

समाजमा बलात्कार, यौनजन्य हिंसा, अपराधका घटना भयावह बन्दै गएकाले कानुन निर्मम बन्नुपर्ने आवाज उठिरहेको छ । बलात्कारीलाई फासीको सजायको माग गर्दै सामाजिक अभियन्ताहरूले आवाज उठाइरहेका छन् । बलात्कारसम्बन्धी कानुन कडा नहुँदा दैनिक सातजनाभन्दा बढी महिलाले यौनजन्य हिंसा र बलात्कार बेहोर्नु परेको उनीहरूको तर्क छ ।

कानुनमन्त्री तुम्बाहाङ्फेले गत महिना तेजाबसम्बन्धी कसुर र बिक्री वितरणसम्बन्धी विद्यमान कानुन संशोधन र नयाँ ऐन ल्याएको बताउँदै बलात्कारीविरुद्ध पनि सरकार निर्मम भएर प्रस्तुत हुने बताएकी हुन् ।

“बलात्कारलाई निरुत्साहित गर्न विद्यमान कानुन हेरफेर हुनसक्छ । प्रधानमन्त्री केपी शर्मा ओली पनि भन्नुभएको छ,” उनी भन्छिन्, “बलात्कारसम्बन्धी विद्यमान कानुन संशोधन गर्नुपर्छ भन्ने खालको माग पीडित पक्षबाट पनि आइरहेको छ । सरोकारवालाहरूले पनि उठाइरहेका छौं ।”

बलात्कारसम्बन्धी मौजुदा कसुर हेरफेर गर्नुपर्ने आवश्यकताबोध आफूलाई पनि भएको तुम्बाहाङ्फे बताउँछिन् । शुक्रबार प्रहरी दिवसका सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले बलात्कारसम्बन्धी घटना न्यूनीकरण गर्न सरकारले कडा कानुन ल्याउने बताएका थिए ।

बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको