राहतभन्दा पनि आयमुलक सिपको खाँचो !

दुदुमाया सिन्तान
२० असार २०७८, आईतवार १३:००

३१ वर्षकी युवा सुप्रिम थिङ, जिउडाल हेर्दा स्वस्थ नै देखिन्छिन् । गोरी, कपाल काटेको, अग्ली देखिने सुप्रिम अरुको साहाराविना उठ्न, अनि हिड्न सक्दिनन् । उनलाई एक ठाउँबाट अर्को ठाउँ जान अरुको साहारा, सहयोगको खाँचो पर्दछ ।  घरभित्रबाट बाहिर जानु पर्दा सकेसम्म उनी घिस्रिएर भए पनि जान खोज्थिन् तर अहिले अरुको साहारा चाहिन्छ उनलाई । उनी आमा, हजुरआमा, एक बहिनी र भाइको साथमा हेटौँडा १३ पदमपोखरी लुङ्बा टोलमा बस्दै आएकी छन् । सुप्रिम दोहोरो बोल्न सक्दिनन् अनि आफै हिड्न सक्दिनन् । ‘जन्मदा रामै्र स्वस्थ जन्मिएको बच्चा डेढ वर्षपछि एक्कासी यस्तो भयो, सुप्रिमकी आमा सानुकान्छीले ती दिनलाई सम्झिदै भनिन् ।’ जन्मेको डेड वर्षपछि बेलुका सुत्ने बेला घ्यार घयार ग¥यो । रातभरि त्यस्तै भइरह्यो । पछिबाट आँखाको गेडी घुमाउने, हात खुट्टा झड्काउने भयो । गाउँतिर के लाग्यो भनेर झाँक्रीलाई देखायो, भएन, हेटौँडा अस्पताल पनि लग्यो, उपचार हुँदैन भन्यो , अनि फर्काएर घरमा ल्याएर राखियो, आमा सानुकान्छीले भनिन् । विरामी भएपछि सुप्रिमको एउटा हात र खुट्टा चलेन ।

अहिले अरु बेला सामान्य रहने सुप्रिमलाई औशी पूर्णिमामा भने अलि असहज हुने उनकी आमाले बताइन् । ‘औशी पुर्णिमामा छोपेको जस्तो हुन्छ, अलि गाह्रो हुन्छ ।’ बाल्यकाल निकै नै कष्टपुर्ण बितेको सुप्रिमको लगभग ४ वर्ष अगाडी बुबा बित्नु भएपछि दैनिकी झनै कष्टपुर्ण बन्दै गएको छ । श्रीमान् बित्नुभएदेखि सानुकान्छीले नै छोरी सुप्रिमसंगै अरु एक छोरी, छोरा अनि आमाको जिम्मेवारी सम्हाल्दै आएकी छन् । तर सानुकान्छी आफैँ पनि पूर्ण रुपमा स्वस्थ छैनन् । उनको पनि ७ वर्ष अगाडी घर लिप्नका लागि माटो खन्न जाँदा माटोको ढिस्कोले पुरिएर ढाड भाच्चिएको थियो । ढाड भाच्चिएपछि उनको ढाडमा स्टील हालिएको छ । त्यसैले पनि उनले गाह्रो काम गर्न सक्दिनन्, गह्रुँगो सामान उचाल्न सक्दिनन् । सुप्रिम २०७२ सालको भुकम्प जानु अघि अलिअलि हिडडुल गर्न सक्थिन् तर भुकम्प गएदेखि उनी हिड्न सक्दिनन् । भुकम्प गएपछि डराएर होला, अहिले एक्लै हिड्नै खोज्दिन, डराको जस्तो हुन्छ, अनि अरुले समाउनु पर्छ उनकी आमा सानुकान्छीले सुनाइन् । सुप्रिमलाई हेर्न प्राय घरमा एक जना व्यक्ति हुनै पर्छ । सुप्रिमकी बुढी हजुरआमा आमा र आमा बाहिर काममा जान नसक्ने हुनाले नै प्राय घरमै हुने सानुकान्छीले बताइन् । ‘३ कठ्ठा जमिन छ, अन्नबाली उब्जाएर खाने ग¥या छ, उनले भनिन् । विश्वव्यापी कोरोना भाइरसको महामारीले सुप्रिमको परिवार पनि अछुतो रहन सकेन । सुप्रिम आफै आफ्नो ख्याल गर्न नसक्ने, अनि परिवारमा आमा एक्लैको जिम्मेवारीले पनि उनको परिवारमा कोरोनाको कारण थप समस्या सिर्जित भएको छ ।

कोरोनाले गर्दा कतिवेला कसलाई लाग्ने पो हो की, लागीहाल्यो भने के गर्ने भन्ने कुरा मनमा एक प्रकारले खेलिरहने सानुकान्छीले बताइन् ।  सानुकान्छीले अगाडी थपिन्, घरमा छोरीको अवस्था त्यस्तो छ , हामी पनि यस्तो अवस्थाका छौँ, कतै रोग लागीहाल्ने पो हो कि भन्ने चिन्ता पनि लाग्छ । रोग लागेर गाह्रो भएन भने त ठिकै छ, तर गाह्रो भयो भने कसरी के गर्ने, कसलाई भन्ने अन्योलमा छु, उनले भनिन् । तर म मर्न चाहिँ डराउदिन, सानुकान्छीले मुसुक्क हाँस्दै भनिन् ।’ आफ्नो काल आएको छैन भने गोली लागे पनि केही नहुने भन्दै सानुकान्छीले यो कोरोनासंग डराउन भने नहुने तर्क गरिन् । कोरोनासंग जति डराएर बस्यो, जति चिन्ता लियो, त्यति नै हामी झन् गल्दै जाने उनले बताइन् । कोरोना लाग्ला भनेर चिन्ता लिइरह्यो भने शरीर गलेर झन् अरु अरु रोग लाग्न सक्ने सानुकान्छीले भनिन् । कोरोनाको कारण जिल्लामा निशेधाज्ञा लागू भएपछि छोरा छोरी पनि घरमै बसिरहेको उनले बताइन् । छोरो अरु बेला ज्यालादारी गर्न जान्थ्यो, अहिले त त्यो पनि छैन, सबै जना घरमै छौँ उनले भनिन् । छिमेकमा एक जना भाइको कोरोनाबाट निधन भएपछि भने सानुकान्छीको मन आत्तिएको थियो । कोरोना जति वर्षको, जसलाई पनि लाग्न सक्ने रहेछ भनेर उनलाई चिन्ताले सताएको थियो । उनले भनिन्, ‘फेरि बच्चाहरुलाई हेरँे, उनीहरुको मलिन अनुहार, सुप्रिमलाई देखेपछि मनमा एक किसिमको हिम्मत बढेर आयो । मैले जीवनमा धेरै दुख कष्ट सहेर, पार गरेर आएको छु, त्यसैले अहिले यो कोरोनाले मरिहाल्छु जस्तो लाग्दैन ।’ ‘अरु समयमा पनि ज्वरो आउने, रुघाखोकी लाग्ने हुन्छ, आत्तिएर नहुने रहेछ, उनले भनिन् ।’ कोरोना जस्तो व्यक्तिलाई पनि हुने रहेछ, तर सावधानी अपनाउनु पर्छ उनले सुनाइन् । सानुकान्छी घर बाहिर निस्कने बेला मास्कको प्रयोग गर्छिन्, छोराछोरीलाई पनि मास्कको प्रयोग गर्न लगाउछिन् । बिस्तारै अवस्था सामान्य बन्दै गएपछि फेरि पनि आफ्नो छोराको काम निरन्तर हुने उनले विश्वास व्यक्त गरिन् । अहिले हामीलाई घरमा घर खर्च चलाउन केही मुश्किल छ तर पनि मेरी बुढी आमाको सामाजिक सुरक्षा भत्ता ( बृद्धा भत्ता ) मेरो एकल भत्ता अनि छोरी सुप्रिमको भत्ता बन्द हुनुभन्दा अगाडी वैशाख महिनामै पाएको हुनाले पनि त्यसैबाट जेनतेन घर खर्च चलाउदै आएको छु, सानुकान्छीले भनिन् । सामाजिक सुरक्षा भत्ता समयमा पाइने हो भने त्यसबाट पनि केही सहजता हुने उनले बताइन् । अन्तबाट कमाइ छैन, आउने बाटो नभएपछि भत्ताकै भरमा हामीले घर खर्च चलाइरहेका हुन्छौँ, सानुकान्छीले भनिन् । बारीबाट एक बाली मकै आउछ तर राम्रोसंग बाली लगाउन नसकेपछि उब्जाउ खासै राम्रो नहुने रहेछ । पानीको सुविधा छैन, काम गर्ने मान्छे पनि छैन, उनले भनिन् ।

यो कोरोनाको महामारीबीच आफूहरुलाई स्थानिय तवरबाट कहिकतैबाट पनि सोधखोज नभएको, र चासो नदिएको उनले गुनासो गरिन् । वडाका व्यक्तिहरुलाई आफैले भोट हालेर पठाइयो तर समस्या पर्दा खासै चासो दिदैन, आफ्नो दुख आफैलाई हो, अरुले गर्ने होइन रहेछ, उनले भनिन् । तर पनि गाउँ बाहिरबाट आएका विभिन्न सामाजिक संघसंस्थाले आफूहरुलाई सम्झेर चामल, दाल, लगायतका सामाग्रीहरु सहयोग गरेको उनले बताइन् । त्यसबाट पनि यो निशेधाज्ञाको समयमा खानलाई समस्या नभएको उनले बताइन् । तर राहत नै समस्याको समाधान नभएर घरमै बसेर काम गरी आय आर्जन गर्न सक्ने त्यस्तो केही सिप स्थानिय तवरबाट  सिक्न पाइयो भने आफूहरुलाई धेरै राहत मिल्ने उनले बताइन् । घरमै छोरीको हेरचाह संगै काम गरेर अलिअलि आय आर्जन गर्न सकियो भने परिवारको आयस्रोत पनि सुध्रदै जाने उनले बताइन् । सानुकान्छी र सुप्रिम  एक उदाहरण मात्रै हुन् ।

सानुकान्छी जस्तो आमा हरेक टोल, गाउँमा हुन सक्छ । सानुकान्छीको जुन विवशता छ, बाध्यता छ, त्यसतर्फ स्थानिय सरकारले के कस्तो योजना ल्याएको छ भनि १३ नम्बर वडाका अध्यक्ष मनोजकुमार वाइबालाई जिज्ञासा राख्दा उहाँले सुप्रिमको अवस्थाको बारेमा आफूलाई जानकारी भएको बताउनु भयो । सुप्रिमलाई मासिक रुपमा सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएका छौँ, तर यो विसम परिस्थितिमा उहाँहरु लक्षित कार्यक्रम खासै नभएकोले पनि उहाँको परिवारलाई चासो नभएको महसुश भएको हुन सक्ने अध्यक्ष वाइबाले बताउनु भयो । तर अबको नयाँ कार्य योजनामा भने उहाँहरु जस्ता व्यक्ति र परिवार लक्षित कार्यक्रम बनाइने अध्यक्ष वाइबाले बताउनु भयो । वडासंग कहि कतैबाट कार्यक्रम आएको खण्डमा सुप्रिमको परिवारलाई पहिलो प्राथमिकतामा राखेर कार्यक्रम गरिने उहाँले प्रतिवद्धता समेत जनाउनु भएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*